सतिशकुमार सिंहको नवगठित जनस्वराज पार्टी तटस्थ रहने घोषणा

२०८२ आश्विन ३०, बिहीबार

जनकपुरधाम : मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले नवगठित जनस्वराज पार्टी अहिले तटस्थ रहने घोषणा गरेका छन्। बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै सिंहले जनमत पार्टी परित्याग गरी बनेको जनस्वराज पार्टीले हाल कुनै पनि गठबन्धनको पक्षमा नउभिने स्पष्ट पारेका हुन्।

सिंहले भने, “अहिले सनाखत प्रक्रिया चलिरहेको अवस्थामा कुनै एक पक्षलाई समर्थन दिने पक्षमा हामी छैनौँ। हाम्रो पार्टी अहिले तटस्थ रहनेछ।” उनले थपे, “तर, हामी रचनात्मक भूमिका खेल्ने कुनै पनि पक्षलाई समर्थन जनाउन तयार छौँ।”

पूर्व मुख्यमन्त्री सिंहले आफ्नो कार्यकालमा भएका कामको फेहरिस्त प्रस्तुत गर्दै युवाहरूमा देखिएको आक्रोश र अपेक्षालाई सम्बोधन गर्न नयाँ सरकारले ध्यान दिनुपर्ने सुझाव दिए। प्रदेशसभा सदस्य त्रिभुवन साहले पनि बुधबार जनस्वराज पार्टीको पक्षमा सनाखत गरेका छन्।

स्मरण रहोस्, सिंहले केही दिनअघि जनमत पार्टी छोड्दै नयाँ दल जनस्वराज पार्टीमा प्रवेश गरेका थिए। नयाँ दलले हाल मधेस प्रदेशमा स्वतन्त्र र तटस्थ नीति अपनाउने जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार