काठमाडौँ : जेनजी आन्दोलनका एक अगुवा मिराज ढुंगानाले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफूहरू राजनीतिक दल खोलेर अघि बढ्न लागेको बताएका हुन्।
उनले भने, ‘हामी चुनावमा जाने भनेर पार्टी खोल्न लागेका होइनौँ। भिडले देश विकास हुँदैन, कि एनजीओ खोल्नुपर्यो कि पार्टी नै खोल्नुको विकल्प छैन। हामीले यो आन्दोलनलाई छाडेर जान मिल्दैन।’
उनले जेनजीहरुलाई एक ठाउँमा आउन आह्वान गरे।
उनले पार्टी खोले पनि आफूहरूको बटमलाइन पूरा नभएसम्म चुनावमा नजाने पनि बताए।
उनले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी नै हाम्रो बटमलाइन हो। त्यो मुद्दालाई सुन्नैपर्छ। हामी चुनावमा जानभन्दा पनि संगठित भएर अघि बढ्नका लागि पार्टी खोल्न लागेका हौँ।’





