काठमाडौं : रौतहटको गौर नगरपालिका–५ का पूर्व वडाध्यक्ष राम सोगारथ राय यादवको मृत्यु भएको छ ।
बुधबार अपरान्ह करिब ४ः१५ बजे करेन्ट लागेर घाइते भएका यादवलाई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा ल्याई चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आफ्नै खेतबारीमा मोटरको तारबाट अचानक करेन्ट लागि पूर्व वडा अध्यक्ष यादव घाइते भएका थिए । शवलाई पोस्टमार्टमको लागि अस्पतालमै राखिएको र घटना सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
नेकपा एमाले जिल्ला कमिटि सदस्य रहेका यादवको मृत्युले पार्टीलाई अतुलनीय क्षति भएको युवा संघ नेपालका केन्द्रीय सदस्य बजरंगी गुप्ताले बताए ।





