काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले हायात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा चासो देखाएकी छिन् ।
आज बिहान अर्थमन्त्री रामेश्वर खनालले प्रधानमन्त्री कार्कीको चासोपछि हायात रिजेन्सी व्यवस्थापनसँग कुराकानी गरी जानकारी लिएका छन् । कुराकानीको क्रममा खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र कत्ति पनि विचलित नभई सेवा सुचारु गर्न आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
अर्थमन्त्री खनालले कुराकानी गर्दै भनेका छन्, ‘तपाईँहरू आत्तिन भएन। उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस्। हामी साथमा छौँ। सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ । कत्ति पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस् ।’
यसबारे भोलि आइतबार होटल व्यवस्थापनसँग सरकारले थप छलफल गरी आवश्यक पहल गर्ने सचिवालयले जनाएको छ ।











