काठमाडौं : अण्डाको मूल्य फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागु हुने गरी अण्डाको मूल्य बढाएको हो ।
उत्पादन घटेको र खपत बढेको भन्दै संघले फेरि अण्डाको मूल्य बढाएको छ । संघ अध्यक्ष विनोद पोखरेलले मूल्य बढेसँगै ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ र मध्यम अन्डाको ४ सय ५० रुपैयाँ पुगेको बताए ।
अध्यक्ष पोखरेलका अनुसार अघिल्लो दरको तुलनामा प्रतिक्रेटमा ५० रुपैयाँ मूल्य बढाइएको हो । यो मूल्यवृद्धि चितवनलाई आधार बनाएर निर्धारण गरिएको हो । उपभोक्ताका लागि एउटा अण्डाको खुद्रा मूल्य भने २२ रुपैयाँकै हाराहारीमा रहेको र उपभोक्ता मूल्यमा त्यति ठूलो फरक नआउने उनको दाबी छ ।





