काठमाडौं : दैलेखको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत टंक बहादुर कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार कार्कीले सडक स्तरोन्नति तथा निर्माण योजनाको अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस मागी लिएको प्रमाणित भएपछि उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाहीको मागसहित मुद्दा दायर गरिएको हो।
कार्कीले डुङ्गेश्वर गाउँपालिका वडा नं. १, २, ३, ४ र ५ मा पर्ने जर्सीचोक–देउली–जडी सडक स्तरोन्नति योजनाको अन्तिम बिल भुक्तानीका लागि प्रक्रिया अगाडि बढाइदिने र सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस मागेको ठहर भएको आयोगले जनाएको छ।
आयोगको टंगालस्थित मुख्य कार्यालय र सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले कार्कीलाई सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानपछि कार्कीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुर कायम गर्दै बिगो बराबर जरिवाना र कैद सजाय माग गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन्।









