काठमाडौं : नेता रेशम चौधरीले आफू जनताबाट निर्वाचित भएर पनि राज्यले नेता र सांसद बन्न नदिएको गुनासो गरेका छन्।
२०७४ सालको निर्वाचनमा कैलालीमा १६ वटा दलको कुल मतभन्दा बढी मत पाएर विजयी हुँदा पनि राज्यले जनमतको अनादर गर्दै आफूलाई साढे आठ वर्ष जेलमा थुनेको उनले बताए। शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा आयोजित ‘वृहत् राजनीतिक संवाद’ कार्यक्रममा बोल्दै चौधरीले भने, ’मैले चुनाव जितें, तर यो देशमा नेता बन्न सकिनँ, सांसद बन्न सकिनँ।’
उनले कैलालीको निर्वाचनमा कांग्रेस, एमाले र माओवादीजस्ता ठूला दलहरूको जमानत जफत भएको स्मरण गराउँदै जनताको त्यति ठूलो समर्थनलाई राज्यले बेवास्ता गरेको आरोप लगाए।
आफ्नो जेल जीवनको कठिन क्षण सम्झँदै चौधरीले उपचारका लागि अस्पताल जाँदा पनि खुट्टामा नेल (साङ्लो) लगाइएको सुनाए। उनले भने, ‘हातमा हत्कडी र खुट्टामा ठोकेको नेलसँग म अस्पतालमा उपचार गराउँथें। यो त्यही राज्य हो।’ उनले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वीर अस्पतालमा आफ्नो नेल खोलिदिएको घटना पनि स्मरण गरे।
चौधरीले हालैको जेन-जी अभियानलाई आन्दोलन नभई ‘नागरिक र जनविद्रोह’ को संज्ञा दिए। उनले भने, ‘कसले भन्यो जेन-जी आन्दोलन हो ? जेन-जी नागरिक विद्रोह हो, जनविद्रोह हो।’
उनले युवा पुस्तालाई सचेत रहन आग्रह गर्दै आकाशमा अझै कालो बादल मडारिरहेको बताए।टीकापुर घटनापछि आफू र आफ्नो समुदायलाई आतंककारीको आरोप लगाइएकोमा दुःख व्यक्त गर्दै उनले पहिचानको लडाइँ जारी रहेको बताए।










