काठमाडौँ : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले जनकपुर बोल्टमाथि रोमाञ्चक जित निकालेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको पहिलो खेलमा विराटनगरले जनकपुरलाई अन्तिम ओभरमा पराजित गरेको हो। विराटनगरले जनकपुरलाई नौ रनले पराजित गरेको हो। विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले नौ विकेट गुमाएर १२६ रन बनायो।
जनकपुरका लागि निकोल लोफ्टी इटनले सर्वाधिक ४१ रन बनाए। त्यस्तै, लाहिरु मिलन्थाले २३, सञ्जय कृष्णमूतीले २० र आसिफ शेखले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
विराटनगरका लागि सन्दीप लामिछानेले चार, सूर्य तामाङले दुई, शुभम रञ्जाने र मर्चेन्ट डि लांगेले एक–एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले सात विकेटको क्षतिमा १३५ रन बनाएको थियो। विराटनगरका लागि शुभम रञ्जानेले ३७, वसिर अह्मदले ३६, लोकेश बमले ३८, मार्टिल गप्टिलले १३ र जर्ज मन्सीले १० रन बनाए।
जनकपुरका लागि संगीत कुर्रे र रुपेश सिंहले दुई–दुई तथा आदित्य महताले एक विकेट लिए।
आजै अर्को खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स प्रतिस्पर्धा गर्दै छन्।











