अब भाषण कम, परिणाममुखी काम धेरै गर्छु : प्रचण्ड

२०८२ मंसिर ९, मंगलवार

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अब आफू लामो भाषणमा भन्दा परिणाममुखी काममा बढी केन्द्रित हुने बताएका छन्।

मंगलबार आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघको पार्टी प्रवेश तथा समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्।पार्टीले ऐतिहासिक पहलकदमी लिएको र अब त्यसलाई स्थापित गर्न काममै लाग्नुपर्नेमा उनले जोड दिए। ‘मैले धेरै लामो र धेरै भन्नु छैन। हामीले गर्नुपर्ने काम धेरै छ। मैले त भनेको छु- भाषण अबदेखि अलि कम गर्दै लैजाऔँ, काम धेरै गर्दै लैजाऔँ।’

उनले नेपाली कम्युनिष्ट पार्टी निर्माण गर्नु एउटा ऐतिहासिक काम भएको भन्दै अब भाषणले मात्र नभई जनताको जीवनस्तर उकास्ने ठोस काम गरेर देखाउनुपर्ने बेला आएको बताए। दाहालले आफ्नो काम अब जेन–जी पुस्ता र श्रमिक वर्गको हितमा केन्द्रित हुने बताए। उनले पछिल्लो समय हजारौँ युवा र श्रमिकहरू पार्टीमा जोडिनुले आफूलाई काम गर्न थप ऊर्जा मिलेको सुनाए।

‘हामीले नेपाली कम्युनिष्ट पार्टी बनाएको एउटा ठूलो ऐतिहासिक पहल हो,’ उनले भने, ‘यो मार्फत हामी नेपालमा युवाहरूले देखेको सपना पूरा गर्ने संकल्प लिएका छौँ। त्यही संकल्पका निम्ति नै म अगाडि बढेको छु।’ उनले अबको आफ्नो काम भनेको देशमा कृषि, पर्यटन, उद्योग र ऊर्जा क्षेत्रमा व्यापक सुधार गरी रोजगारी सिर्जना गर्नु रहेको प्रस्ट पारे।

आफूले ‘काम’ गर्न खोज्दा वर्तमान सरकार बाधक बनेको भन्दै उनले आक्रोश समेत पोखे। आफू प्रधानमन्त्री हुँदा विदेशबाट फर्केका युवाहरूका लागि उद्यम गर्न अर्बौंको बजेट छुट्याएको भए पनि वर्तमान सरकारले ती सबै कार्यक्रम हटाइदिएको उनको आरोप थियो।

‘मैले कामको सुरुवात गरेको थिएँ, तर पछिल्लो सरकारले ती सबै कार्यक्रम हटाइदियो,’ दाहालले भने, ‘सामाजिक सुरक्षा कोषमा डेढ खर्ब रकम जम्मा भइसक्यो, तर सरकारले नीति नबनाउँदा त्यो रकम फ्रिज भएर बसेको छ। अब हामी त्यसको सदुपयोग र रोजगारी सिर्जनाका लागि दबाब दिने काममा लाग्नेछौँ।’

उनले पर्सी १२ गतेदेखि धनगढीबाट सुरु हुने सभा र अभियानहरू पनि भाषणमा मात्र सीमित नभई सरकारलाई दबाब दिने र निर्वाचनको वातावरण बनाउने ‘काम’ मा केन्द्रित हुने दाबी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार