काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली महाराजगन्जस्थित देउवा निवासमा छलफलमा जुटेका छन्।
एमाले अध्यक्ष ओली देउवालाई भेट्न शुक्रबार उनकै निवास महाराजगन्ज पुगेका हुन्। उनीबीच शुक्रबार अपराह्न ४ बजे छलफल सुरु भएको देउवा सचिवालय स्रोतले जानकारी दिएको छ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि देउवा र ओलीबीच भेटवार्ता भएको पहिलो पटक सार्वजनिक भएको हो।
आउँदो माघ ११ मा राष्ट्रिय सभा सदस्य र फागुन २१ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन तय भएको छ। दुवै नेताबीच निर्वाचनबारे पनि छलफल हुने जनाइएको छ।
जेनजी आन्दोलनका क्रममा देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि आक्रमण भएको थियो। घाइते भएका देउवा दम्पत्ति उपचारका लागि सिंगापुर पुगेका थिए। केही समयअघि मात्रै उनी उपचार गरेर नेपाल फर्किएका थिए।
जेनजी आन्दोलनपछि देउवाले पूर्णबहादुर खड्कालाई कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी दिएर आफू आराम गरिरहेका छन्।





