काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शनिबार सम्पन्न खेलमा विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ४७ रन बनाएको थियो ।
जितका लागि पाएको १४८ रनको लक्ष्य विराटनगरले ११ दशमलव पाँच ओभरमा चार विकेट गुमाएर भेट्टायो । जसमा साम हिजलेट र फाफ डु प्लेसिसले अर्धशतकीय पारी खेले । साम ५१ र फाफ ५० रनमा आउट भए । सुदूरपश्चिमका अविनाश बोहराले दुई र हर्मित सिंहले एक विकेट हात पारे ।
यसअघि त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १४७ रन बनायो । जसमा आरिफ शेखले सर्वाधिक अविजित ४५ र इशान पाण्डेले ३८ रन जोडे । विराटनगरका कप्तान सन्दीप लामिछानेले तीन र प्रतिश जिसीले दुई विकेट हात पारे ।
आजको जितले विराटनगरले पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँगको भेट पक्का गरेको छ । सुदूरपश्चिम यसअघि नै क्वालिफायर पुगिसकेको थियो ।







