काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरिरहेका ठूला आर्थिक र सामाजिक परिवर्तनका घोषणाहरूलाई तथ्यहीन र अव्यावहारिक भन्दै कडा आलोचना गरेका छन्।
पुनले सामाजिक सञ्जालमार्फत प्रसाईंलाई सम्बोधन गर्दै देशको वास्तविक आर्थिक दुर्दशाको चित्रण गरेका छन्।
शिक्षामन्त्री पुनले अहिले शिक्षा क्षेत्रमा भोगेको आर्थिक अभावलाई प्रसाईंका दाबीहरूसँग तुलना गरेका छन्। पुनले लेखेका छन् कि पैसा नभएर धेरै शिक्षकलाई स्थानीय भत्ता वा महँगी भत्ता दिन सकिएको छैन। त्यस्तै, छाना नभएका र कक्षाकोठाको अभाव भएका विद्यालयहरू सहयोग माग्न आउँदा पनि आफूले खाली हात फर्काउन परेको तितो यथार्थ उनले सुनाएका छन्। शिक्षकको माग लिएर आउने विद्यालयलाई पठाउनका लागि जगेडा बजेट नै नभएको अवस्था उनले स्पष्ट पारेका छन्।
यस्तो अवस्थामा प्रसाईंले छ लाख जनतालाई कालो सूचीबाट हटाउने, सेना र प्रहरीको तलब मासिक रु. एक लाख बनाउने, र रु. २० लाखसम्मको ऋण मिनाहा गरिदिने जस्ता काम कसरी गर्न सक्छन् भन्दै मन्त्री पुनले सोधेका छन्। उनले प्रसाईंलाई ‘धनको देवता कुवेर’ नभएको र ऋण मिनाहा गर्दा बैंकमा जम्मा भएको जनताकै पैसा डुब्ने खतरा रहेको भन्दै सचेत गराएका छन्।
मन्त्री पुनले प्रसाईंलाई ‘छापाखानामा किताब छापे जस्तै’ पैसा छाप्न नपाइने साधारण आर्थिक सिद्धान्त सबैलाई थाहा हुनुपर्ने कुरामा जोड दिएका छन्। उनले प्रसाईंका यस्ता ‘हावा कुरा’ले जनतालाई झुक्याउनु नहुने बताएका छन्।
यसअघि पनि रेल, पानीजहाज ल्याउने र नेपाललाई सिंगापुर बनाउने जस्ता अव्यावहारिक आश्वासन धेरैले दिएको तर ती व्यक्तिहरू हाँसोको पात्र मात्र बनेको उदाहरण दिँदै मन्त्री पुनले तथ्य र बुझेर मात्र कुरा गर्न प्रसाईंलाई सुझाव दिएका छन्।








