काठमाडौँ : नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा एकीकृत समाजवादीबाट पुरानै पार्टीमा फर्किएकी नेतृ रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।
झाँक्रीले खुला केन्द्रीय सदस्यतर्फ १९ सय ११ मत प्राप्त गर्दै विजयी भएकी हुन् । महाधिवेशनमा कुल २२६३ जना मतदातामध्ये २२२७ जनाले मतदान गरेका थिए । यस निर्वाचनमा झाँक्रीले उल्लेख्य मतका साथ सफलता हात पारेकी छन् ।
केही महिनाअघि मात्र एकीकृत समाजवादी परित्याग गरी एमालेमा ‘घर फर्क अभियान’ मार्फत प्रवेश गरेकी झाँक्री यसअघि पनि एमालेमै सक्रिय थिइन् ।
पार्टी विभाजनका बेला माधवकुमार नेपाल पक्षमा लागेकी उनी पछि असन्तुष्टि जनाउँदै पुरानै पार्टीमा फर्किएकी थिइन् ।
झाँक्रीको विजयलाई पार्टीभित्र फर्किएका नेताहरूको लागि सकारात्मक सन्देशका रूपमा हेरिएको छ । एमाले महाधिवेशनमा केपी शर्मा ओली ठूलो मतान्तरले पुनः अध्यक्षमा निर्वाचित भएका छन् ।





