प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा १४३ सांसदको हस्ताक्षर बुझाइयो

२०८२ पुष ८, मंगलवार

काठमाडौं : प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित नेपाली काँग्रेसका ६५ तथा अन्य दलका ३ गरी कुल ६८ सांसदको हस्ताक्षर सर्वोच्च अदालतमा दर्ता भएको छ ।

योसँगै संसद् पुनर्स्थापनाको पक्षमा १४३ जना सांसदको हस्ताक्षर पुगेको छ । कांग्रेसले मङ्गलवार पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई वारेस नियुक्त गरी हस्ताक्षरसहितको पूरक रिट दर्ता गरेको हो ।  यसअघि मङ्सिर २३ गते कांग्रेसका ८ सांसदले दायर गरेको रिटमा थप ६० सांसदको हस्ताक्षर आज संलग्न गरिएको छ ।

भोलि संवैधानिक इजलासमा यसको पेसी तोकिएको छ। कांग्रेसबाहेक जनता समाजवादी पार्टी (अशोक राई पक्ष), जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि हस्ताक्षर गरेका छन् । जसपा की हसिना खान, जनमतकी गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डलले सिंहदरबारस्थित कांग्रेस संसदीय दल कार्यालयमा पुगेर हस्ताक्षर गरेका हुन् ।

यसअघि एमालेका ७५ सांसदले मङ्सिर १० गते संस्थागत रूपमा हस्ताक्षरसहित रिट दर्ता गरिसकेका छन् । कांग्रेसको भने संस्थागत नभई व्यक्तिगत हस्ताक्षरमा आधारित छ । अब दुवै पक्षका हस्ताक्षर जोड्दा १४३ सांसद पुग्छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसद आवश्यक पर्ने भएकाले यो सङ्ख्या बहुमतभन्दा बढी हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार