काठमाडौं : एसेज सिरिजको पाँचौं तथा अन्तिम टेस्टमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै अस्ट्रेलियाले शृंखला ४–१ ले जितेको छ।
सिड्नी क्रिकेट ग्राउन्डमा भएको यो टेस्ट सिरिजकै सबैभन्दा प्रतिस्पर्धात्मक खेल बनेको थियो, जहाँ अन्तिम दिनसम्म नतिजा खुला रह्यो।
इंग्ल्यान्डले दोस्रो इनिङ्समा १८३ रनले पछाडि रहेको अवस्थाबाट थप ३४२ रन बनाएपछि अस्ट्रेलियालाई जितका लागि १६० रनको लक्ष्य दिएको थियो। जेकब बेथेलले १५४ रनको उत्कृष्ट इनिङ खेल्दै इंग्ल्यान्डलाई बलियो अवस्थामा पुर्याएका थिए।
उनले युवा उमेरमै एसेजमा १५० रन पार गर्ने दुर्लभ उपलब्धि हासिल गरे। बलिङतर्फ मिचेल स्टार्कले निर्णायक भूमिका खेल्दै बेथेलको सहित कुल तीन विकेट लिए । शृंखलामा कुल ३१ विकेट लिएका स्टार्क ‘प्लेयर अफ द सिरिज’ बने।
लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले ट्राभिस हेड र जेक वेदराल्डमार्फत तीव्र सुरुवात गरेको थियो । त्यसपछि अस्ट्रेलियाले नियमित अन्तरालमा विकेट गुमाएपनि खेल भने जित्न सफल भयो ।





