काठमाडौं : हाँस्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को निर्देशन तथा मुख्य अभिनय रहेको चलचित्र ‘गोबर गणेश’ ले युनिभर्सल सर्टिफिकेट पाएको छ।
केन्द्रीय चलचित्र जाँच समितिले यो चलचित्रलाई सबै वर्गले हेर्न मिल्ने बताउँदै ‘यू’ (युनिभर्सल) सर्टिफिकेट प्रदान गरेको हो । युनिभर्सल सर्टिफिकेट पाएसंगै अब यो चलचित्र बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन् ।
पछिल्लो समय यो चलचित्रको ट्रेलर निकै हिट छ। ३० लाख अर्थात ३ मिलियन दर्शकले हेरेको यो चलचित्रको ट्रेलर रिलिज भएको तेस्रो दिनदेखी आजसम्म ट्रेण्डिङ नम्बर १ मा छ। चलचित्र भने माघे संक्रान्तिको अवसर पारेर पर्सि अर्थात माघ १ गतेबाट देशभरका सिनेमा हलहरुमा एकसाथ प्रदर्शन हुदैछ ।
पढ्न नसकेपछि काठमाडौं आएर एक युवकले गरेको संघर्ष चलचित्रमा छ। बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा बल्छीसँगै, नायिका वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायतका कलाकारहरुको अभिनय छ ।










