काठमाडौं : इंग्लिस क्लब आर्सनलले च्याम्पियन्स लिगमा इटालियन क्लब इन्टर मिलानविरुद्ध ३–१ को सहज जित निकालेको छ ।
मंगलबार आर्सनललाई इन्टरको घरेलु मैदान गुइसेप्पे मेआजा रंगशालामा जित दिलाउन गाब्रियल जेससले दुई गोल गरे । भिक्टोर ग्योकेरेसले एक गोल गरे । इन्टरका पेटर सुकिकले एक गोल गरे पनि टोलीको हार टार्न सकेनन् । खेलेको १०औँ मिनेटमा जेससले आर्सनललाई अग्रता दिलाएका थिए ।
तर, आर्सनलले यो अग्रता लामो समयसम्म जोगाउन सकेन । १८औँ मिनेटमा इन्टरका सुकीकले गोल गर्दै टोलीलाई खेलमा फर्काए । ३१औँ मिनेटमा जेससले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्सनलले २–१ को अग्रता बनायो । ८४औँ मिनेटमा ग्योकेरेसले तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् ।
जितसँगै प्रतियोगितामा आर्सनलले २१ अंक जोडेको छ । तालिकाको शीर्ष स्थानमा रहेको आर्सनलले सात खेल खेल्दा शतप्रतिशत नतिजा निकालेको छ । पराजित इन्टर १२ अंकका साथ नवौँ स्थानमा छ ।





