काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी पहिलो बन्ने सम्भावना प्रबल रहेको बताएका छन् ।
आइतबार सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । संयोजक प्रचण्डले नेकपामा २० वटा दललाई समेटेर बृहत् पार्टी निर्माण गरेपछि पार्टीको लोकप्रियता बढ्दै गएको बताए । त्यसकै आधारमा पहिलो पार्टी बन्ने सम्भावना प्रबल रहेको उनको भनाइ छ ।
उनले भने,‘हामीले २० वटा दललाई समेटेर एउटै पार्टी निर्माण गरेर सबै पक्षलाई समेट्ने गरी प्रतिनिधि सभाका उम्मेदवार चयन गरिएको र समानुपातिक उम्मेदवार छनोट गरेका छौँ ।’ संयोजक दाहालले गोरखामा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि त्यहाँ नेकपाका उम्मेदवार लेखनाथ न्यौपानेको जित करिब-करिब निश्चित जस्तै भएको बताए ।
भट्टराईले आफ्नो पार्टीलाई समर्थन गर्ने दाबी पनि उनले गरे ।





