राष्ट्रिय लिगमा प्लानिङ ब्वाइजको दोस्रो जित

२०८२ माघ १४, बुधबार

काठमाडौं : प्लानिङ ब्वाइज युनाइटेडले सातदोबाटो युथ क्लबलाई ४-२ ले पराजित गर्दै राष्ट्रिय लिग फुटबलमा दोस्रो जित हात पारेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा फागु राम थारुले दोस्रो हाफमा दुई गोल गरेपछि प्लानिङले खेलमा पुनरागमन गर्दै जित निकालेको हो । चार खेल खेलबाट २ जित, १ बराबरी र १ हारको नतिजा निकालेको प्लानिङ ७ अंक जोडेर छैटौं स्थानमा उक्लेको छ ।

सातदोबाटोको भने यो दोस्रो हार हो । चार खेलबाट ४ अंक मात्र रहेको सातदोबाटो १२औं स्थानमा झरेको छ । बोबिरसोभ सोबिरोभले २१औं मिनेटमा गोल गर्दै सातदोबाटोलाई पहिले अग्रता दिलाएको थियो । तर एलेक्स विलानेले पहिलो हाफको इन्जुरी टाइमको सातौं मिनेटमा प्लानिङका लागि बराबरी गोल फर्काए ।

रोमन भुजेलले ६३औं मिनेटमा गोल गरेपछि प्लानिङले पहिलो पटक अग्रता लिएको थियो  ।तर त्यो अग्रता लामो समय टिकेन । सातदोबाटोका फोडे फोफानाले ६९औं मिनेटमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

त्यसपछि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका फागुराम चम्किए । उनी ७४औं मिनेटमा श्याम मुर्मुको स्थानमा मैदान प्रवेश गरेका थिए । त्यसको पाँच मिनेटपछि नै गोल गर्दै प्लानिङ ब्वाइजलाई ३-२ को अग्रता दिलाए भने ८३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ४-२ को जित पक्का गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार