काठमाडौँ : सन् २०२६ मा हुने टी-२० विश्वकपमा पाकिस्तानले भारतविरुद्धको खेल नखेल्ने भएको छ। पाकिस्तान सरकारले आफ्नो क्रिकेट टोलीलाई विश्वकप खेल्न श्रीलङ्का जान अनुमति दिए पनि भारतसँगको खेलमा भने रोक लगाएको छ।
पाकिस्तान सरकारको आधिकारिक सामाजिक सञ्जालमा भनिएको छ: ‘पाकिस्तान सरकारले आफ्नो क्रिकेट टोलीलाई २०२६ को टी-२० विश्वकपमा सहभागी हुन अनुमति दिन्छ, तर १५ फेब्रुअरी २०२६ मा भारतविरुद्ध हुने भनिएको खेलमा भने पाकिस्तानी टोली मैदानमा उत्रिने छैन।’
पाकिस्तान सरकारले भारतसँग नखेल्नुको ठोस कारण खुलाएको छैन। तर, केही समयअघि सुरक्षाको कारण देखाउँदै भारतमा खेल्न इन्कार गरेपछि बंगलादेशलाई प्रतियोगिताबाट हटाइएको थियो। पाकिस्तानले त्यसबेला बंगलादेशको समर्थन गर्दै आईसीसीले भारतको पक्ष लिएको आरोप लगाएको थियो।
पाकिस्तान समूह ‘ए’ मा छ। यस समूहमा भारत, नामिबिया, नेदरल्याण्ड्स र अमेरिका छन्। पाकिस्तानका सबै खेलहरू श्रीलङ्कामा हुनेछन्। उसले फेब्रुअरी ७ मा नेदरल्याण्ड्ससँग पहिलो खेल खेल्नेछ।





