काठमाडौं : राष्ट्रियसभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ ।
सभाको आजको बैठकले राष्ट्रियसभामा विचाराधीन सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता गरेको हो । सभाका अध्यक्ष नारायण दाहालले यो विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दै विधेयक फिर्ता भएको घोषणा गरेका हुन् । विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक २०८१ सम्बन्धी विधायक व्यवस्थापन समितिको प्रतिवेदन’ पेस गरेका थिए ।
सभाको २०८२ साल भदौ १३ गते बसेको बैठकले राष्ट्रियसभाबाट यो विधेयक उत्पत्ति गरी दफाबार छलफलका लागि विधायक व्यवस्थापन समितिमा पठाएको थियो । समितिमा ३५ जना सांसदले १ सय ५५ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए । समितिका सभापति दाहालले यो विधेयकमाथि सूचना तथा सञ्चार प्रविधिमन्त्री, मन्त्रालयका सचिव र सरोकारवालासँग विभिन्न चरणमा अनौपचारिक छलफल भएको जानकारी गराए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गएको माघ २० गते सामाजिक सञ्जाल विधेयक फिर्ता माग्ने निर्णय गरी माघ २१ गतेको पत्रमार्फत सरकारका तर्फबाट विधेयक फिर्ता माग्ने निर्देशन भएको थियो ।









