काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको बागडोर नेकपाले सम्हाल्नुपर्ने आजको आवश्यकता भएको बताएका छन्।
नेपाली कम्युनिस्ट पार्टी ओखलढुङ्गाले आयोजना गरेको निर्वाचन विशेष मतदाता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमा होहल्ला गर्दैमा नयाँ नहुने टिप्पणी गरे। उनले भदौ २३ गते विद्यार्थीको हत्या र २४ गते विध्वंस मच्चाउनेहरूले आत्म समीक्षा नगरी हो-हल्ला गर्दै हिँडेको आरोप लगाए ।
प्रचण्डले भने, ‘यी दुवैभन्दा हामी फरक छौँ, विचारले फरक। यो पार्टीले देशको बागडोर सम्हाल्नुपर्ने आजको ऐतिहासिक आवश्यकता हो। त्यही आवश्यकता महसुस गरेर नै देशभक्त र कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध गरेका हौँ।’
उनले उमेरका कारण बाहिरबाट डाँडो काटेजस्तो देखिए पनि भित्रबाट त्यस्तो नभएको जिकिर गरे। उनले थपे, ‘उमेरले बाहिरबाट डाँडो काटेजस्तो देखिएको होला बाहिरबाट, तर भित्रबाट बिलकुल कटेको छैन। मैले अन्तिम समयसम्म राष्ट्रको स्वाधीनता र जनताको हितमा समर्पित भएर नयाँ आन्दोलनको सृष्टि गर्ने सङ्कल्प गरेको छु।’









