काठमाडौं : निर्वाचन सुरक्षार्थ छनोट भएर दशदिने तालिम पूरा गरेका एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी बुधबारदेखि फिल्डमा खटिँदै छन् ।
उनीहरू नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा फौजसँगै चुनावी मैदानमा खटिनेछन् ।
नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० र सशस्त्रले १५ हजार ११० निर्वाचन प्रहरीलाई १८ माघमा नियुक्तिपत्र दिएको थियो । उनीहरूले सम्बन्धित जिल्ला प्रहरी कार्यालय र गुल्महरूमा तालिम लिएका थिए । नेपाल प्रहरीका प्रवक्ता डिआइजी अविनारायण काफ्लेले तालिम पूरा भएका निर्वाचन प्रहरीलाई निर्वाचन सुरक्षार्थ खटाउन लागिएको बताए ।
‘मुलुकभर छनोट भएका सबै निर्वाचन प्रहरीको तालिम पूरा भएको छ । १० दिनको तालिम लिएका छन् । उनीहरूले गत १८ माघमा नियुक्तिपत्र लिएका थिए । अब निर्वाचन सुरक्षार्थ फिल्डमा खटाइँदै छ,’ उनले भने ।





