काठमाडौं : आईसीसी टी–२० विश्वकप क्रिकेटमा जिम्बाबेले अस्ट्रेलियामाथि २३ रनको शानदार जित निकालेको छ ।
श्रीलंकाको कोलोम्बोस्थित आर. प्रेमदासा रंगशालामा जिम्बाबेले दिएको १७० रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १९ ओभर ३ बलमा १४६ रनमा समेटियो । अस्ट्रेलियालाई सस्तोमा समेट्न जिम्बाब्बेका ब्लेसिङ मुजराबानी एक्लैले ४ विकेट लिए । ब्राड इभान्सले ३ तथा वेलिंग्टन मसाकाड्जा र रायल बर्लले एकएक विकेट लिए ।
ब्याटिङमा अस्ट्रेलियाका म्याट रेनशाले सर्वाधिक ६५ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । उनले ग्लेन म्याक्सवेलसँग पाँचौं विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए । म्याक्सवेल ३१ रनमा आउट हुँदा अन्य ब्याटर जिम्बाब्बेको बलिङसामु धराशायी बने ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बाबेका टप अर्डर ब्याटरले उत्कृष्ट प्रदर्शन गर्दै १६९ रनको स्कोर खडा गरेका थिए । जिम्बाब्बेका ओपनर ब्रायन बेनेट ६४ र कप्तान सिकन्दर राजा २५ रनमा अविजित रहँदा रायल बर्ल र तदिवानाश मारुमानीले समान ३५ रनको योगदान दिए ।
बलिङमा अस्ट्रेलियाका मार्कस स्टोइनिस र क्यामरन ग्रीनले एक-एक विकेट लिए ।










