काठमाडौँ : इङ्लिस प्रिमियर लिगको उपाधि दौड रोमाञ्चक मोडमा पुगेको छ। गएको मध्यरातमा आर्सनल ब्रेन्टफोर्डसँग १–१ को बराबरीमा रोकिएपछि प्रशिक्षक मिकेल आर्टेटाको टोलीमाथि दबाब बढेको छ।
हाल प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल दोस्रो स्थानको म्यान्चेस्टर सिटीभन्दा चार अंकले अगाडि छ र यस सिजन केवल तीन खेलमा पराजित भएको छ। तर उसलाई पछ्याइरहेको टोली सिटी भएकाले अग्रता सुरक्षित मान्न सकिँदैन। किनभने सिटीका प्रशिक्षक पेप ग्वार्डिओला विगतका सिजनहरूमा उत्कृष्ट पुनरागमन गर्दै उपाधि जित्न सफल हुँदै आएका छन्।
आर्सनलले ब्रेन्टफोर्डलाई पराजित गरेको भए उसले छ अंकको अग्रता बनाउने थियो र त्यसपछि वुल्भरह्याम्प्टन वान्डरर्सविरुद्ध जित निकाल्दै नौ अंकसम्मको दूरी बढाउन सक्थ्यो।










