चलचित्र ‘मालती मंगले’ को पोस्टर सार्वजनिक

२०८२ फाल्गुन ३, आईतवार

काठमाडौँ : चर्चित गायक रामकृष्ण ढकालले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘मालती मंगले’को आधिकारिक पोस्टर र प्रदर्शन मिति एकसाथ सार्वजनिक गरिएको छ ।

निर्माण पक्षले सार्वजनिक गरेको जानकारी अनुसार, यो चलचित्र आगामी नयाँ वर्षको वैशाख २५ गते (मे ८) देखि नेपालभर प्रदर्शनमा आउनेछ ।सार्वजनिक पोस्टरले चलचित्रको मुख्य मर्म र पात्रहरूको रसायनलाई आकर्षक ढङ्गले प्रस्तुत गरेको छ । पोस्टरमा चलचित्रका मुख्य पात्र विजय बराल र वर्षा राउतलाई निकै आत्मीय र प्रेमिल मुद्रामा देखाइएको छ ।

विजयले वर्षाको काखमा आरामदायी भावमा टाउको राखेका छन् भने रातो रङ्गको ग्रामीण पहिरनमा सजिएकी वर्षाले विजयको टाउकोमा आफ्नो टाउको अड्याउँदै मुस्कुराइरहेकी छिन् । विजय बस्यालले डिजाइन गरेको पोस्टरको पृष्ठभूमि र पात्रहरूको हुलियाले चलचित्रले एउटा अर्ग्यानिक र माटोको सुगन्ध बोकेको ग्रामीण प्रेमकथा वा सामाजिक परिवेशलाई उठान गरेको आभास दिन्छ ।

चलचित्रका निर्देशक प्रकु पाण्डेयले यसलाई एक विशुद्ध नेपाली पारिवारिक प्रेमकथाको रूपमा व्याख्या गरेका छन् । उनले भने, ‘यो परिवारको सबै उमेर समूहका सबै जना एकसाथ बसेर हेर्न सकिने चलचित्र हो । यसले हाम्रो समाजको एउटा बलियो पाटोलाई उजागर गर्ने प्रयास गरेको छ।’

चलचित्रको कथा पनि निर्देशक पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन् । रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यस चलचित्रको कार्यकारी निर्मातामा सागर ज्ञवाली रहेका छन् भने सह–निर्माताहरूमा बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्मावती गुरुङ र स्वीकृति बस्नेत छन् ।

चलचित्रमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भूमिकामा देखिएका छन् । उनीहरूका साथै प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराईलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रका छायाकार महेश पौडेल हुन् भने सम्पादन रोमी मोजेजको, रङ्ग संयोजन कृष्ण भण्डारीको, ध्वनि मिश्रण डिकेश खड्गीको रहेको छ । चलचित्रको डिजिटल वितरक ओएसआर डिजिटल तथा थिएटर वितरक आरआर फिल्म्स हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार