काठमाडौँ : सिन्धुलीमा इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका श्रमिकको उपचारक्रममा मृत्यु भएको छ ।
गोलञ्जोर गाउँपालिका–५ आलडाँडा क्षेत्रमा बिजुलीको पोलमा चढेर काम गरिरहेका तीनपाटन गाउँपालिका–२ कदमे स्थायी घर भई हाल कमलामाई नगरपालिका–४ ढुंग्रेबासमा बस्दै आएका ४२ वर्षीय रामलाल श्रेष्ठ करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार स्थानीयस्तरमा इन्टरनेट (नेट) जडानसम्बन्धी काम गर्दै आएका श्रेष्ठले पोलमा चढेर तार व्यवस्थापन गर्ने क्रममा अचानक विद्युत् तारले छोएपछि अचेत भई पोलबाट तल खसेका थिए ।
उनलाई घटनालगत्तै स्थानीयवासीले उद्धार गरी जिल्ला अस्पताल सिन्धुली पुरयाएका थिए। अस्पतालले उनलाई उपचारक्रममा मृत घोषित गरेको प्रहरीले जनाएको छ ।





