काठमाडौं : बेलायतका पूर्व राजकुमार एन्ड्रुलाई व्यापार दूतका रूपमा कार्यरत रहँदा आर्थिक दुराचार गरेको आरोपमा बिहीबार पक्राउ गरिएको छ। जेफ्री एप्स्टिनसम्बन्धी फाइलबाट सार्वजनिक भएका नयाँ विवरणपछि प्रहरीले अनुसन्धान तीव्र बनाउँदै उनलाई नियन्त्रणमा लिएको हो।
बेलायतको आधुनिक इतिहासमा राजपरिवारका सदस्य पक्राउ गरिएको यो पहिलो घटना हो। प्रहरीले अनुसन्धानका क्रममा पूर्वी इङ्ग्ल्यान्ड र लन्डनको पश्चिम क्षेत्रमा रहेका दुई सम्पत्तिमा खोजतलास गरिरहेको जनाएको छ। गत वर्ष उपाधि खोसिएका ६६ वर्षीय एन्ड्रुलाई आफ्नै जन्मदिनमा हिरासतमा लिइनु उनको पतनको अर्को नाटकीय मोडका रूपमा हेरिएको छ।
थेम्स भ्याली प्रहरीले विज्ञप्ति जारी गर्दै “आज ९१९र२० नोरफोकका ६० वर्ष नाघेका एक पुरुषलाई सार्वजनिक पदमा दुराचार गरेको आशंकामा पक्राउ गरिएको छ” जनाएको छ। बेलायतमा प्रचलित अभ्यासअनुसार प्रहरीले नाम सार्वजनिक गरेको छैन। बर्कशायर र नोरफोकस्थित ठेगानाहरूमा खोजतलास जारी रहेको र ती व्यक्ति हाल प्रहरी हिरासतमा रहेको प्रहरीले पुष्टि गरेको छ।
बेलायती सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्वीरहरूमा राजा चार्ल्स तृतीयको स्यान्ड्रिङ्घाम इस्टेटमा बिहीबार बिहान चिन्ह नलगाइएका सवारीसाधन पुगेको देखिन्छ। एन्ड्रु यसै महिना त्यहाँ सरेका थिए।
गत साता सार्वजनिक विवरणअनुसार, एन्ड्रुले व्यापार दूतका रूपमा रहँदा दोषी ठहरिएका अमेरिकी यौन अपराधी जेफ्री एप्स्टिनलाई सम्भावित गोप्य कागजात पठाएको संकेत देखिएको थियो। सन् २०१० को एक इमेलमा उनले एशियाली मुलुकहरूको भ्रमणपछि तयार पारिएका प्रतिवेदनहरू एप्स्टिनसँग साझा गरेको बताइएको छ।
हाल एन्ड्रु माउन्टब्याटन–विन्डसरका नामले चिनिने पूर्व राजकुमारका उपाधि गत वर्ष खोसिएका थिए र उनलाई विन्डसर इस्टेटस्थित निवास छाड्न निर्देशन दिइएको थियो। यद्यपि, उनी अझै बेलायती सिंहासनको उत्तराधिकार सूचीमा आठौँ स्थानमा छन्।
एप्स्टिनका आरोपकर्तामध्ये एक भर्जिनिया जिउफ्रेले आफ्नो संस्मरणमा किशोरावस्थामा आफूलाई एन्ड्रुसँग यौन सम्बन्ध राख्न बेचबिखन गरिएको दाबी गरेपछि विवाद चर्किएको थियो। एन्ड्रुले भने कुनै पनि गैरकानुनी कार्य अस्वीकार गर्दै आएका छन्। उनले सन् २०२२ मा जिउफ्रेले दायर गरेको अमेरिकी दिवानी मुद्दा दायित्व स्वीकार नगरी मिलापत्रमार्फत टुंग्याएका थिए।
गत साता राजा चार्ल्सले आफ्ना भाइका कथित गतिविधिप्रति “चिन्ता” व्यक्त गर्दै बकिङ्घम दरबार प्रहरीले आवश्यक सहयोग गर्न तयार रहेको जनाएको थियो। बीबीसीका अनुसार, व्यापार दूतहरूलाई आधिकारिक भ्रमणसँग सम्बन्धित संवेदनशील, व्यावसायिक वा राजनीतिक जानकारी गोप्य राख्ने दायित्व हुन्छ। एन्ड्रुले सन् २००१ देखि एक दशकसम्म बेलायती व्यापार दूतका रूपमा काम गरेका थिए।
सार्वजनिक पदमा दुराचार प्रमाणित भए अधिकतम आजीवन कारावास सजाय हुन सक्ने क्राउन प्रोसिक्युशन सर्भिसले जनाएको छ। बेलायती कानुनअनुसार अभियोग नलगाई २४ घण्टासम्म हिरासतमा राख्न सकिने व्यवस्था छ, त्यसपछि थप समयका लागि अदालतको अनुमति आवश्यक पर्छ।










