काठमाडौँ : राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सदैव सत्यतथ्य, निष्पक्ष र आधिकारिक समाचार सामग्री सम्प्रेषण गरी मुलुक र लोकतन्त्रका पक्षमा राससले अतुलनीय भूमिका निर्वाह गरेको बताएका छन् ।
राससको ६५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा कार्यकारी अध्यक्ष झाले संस्थालाई प्राप्त जिम्मेवारी पूरा गर्ने क्रममा अहोरात्र खटिरहेको राससको भूमिका परिवर्तित सन्दर्भमा अझै बढेको बताए ।
उनले आधिकारिक र विश्वसनीय सूचनाबिना लोकतन्त्र अघि बढ्न नसक्ने उल्लेख गर्दै लोकतन्त्रलाई जनताको घरदैलोमा अनुभूत गराउने संस्थाका रूपमा राससको जन्म भएको हो, त्यसैले बदलिँदो सञ्चार परिवेशसँगै पुरातन ऐन, कानुनसहित संस्थाको संरचना र नीति तथा कार्यक्रमसमेत परिवर्तन हुनुपर्नेमा जोड दिए।
नयाँ युगसँगै राससलाई अघि बढाउन नीतिगत परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले राससको सामथ्र्यलाई अझ विस्तार गर्न सामाजिक सञ्जालको आत्मसात् गर्नुपर्ने उनको भनाइ थियो । कार्यकारी अध्यक्ष झाले अब समाचार सम्प्रेषण केवल ‘न्यूज लाइन’ प्रविधिबाट प्रभावकारी नहुने भन्दै सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालको प्रयोगमा राससको ध्यान केन्द्रित हुनुपर्ने समय आएको बताए ।
सत्यतथ्य र आधिकारिक सूचना प्रवाहमा एक रुपता ल्याउन राससले महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गर्दैै कार्यकारी अध्यक्ष झाले लोकतन्त्रलाई सुदृढ तुल्याउन प्रेस बलियो हुनुपर्नेमा जोड दिए ।
राससले आफ्नो समाचार सेवालाई विविधीकरण र व्यावसायिकीकरण गर्ने क्रममा अवधी, मैथिली र नेपाल भाषामा समाचार सेवा सञ्चालनसहित नेपाली समाचार सेवा २४सै घण्टा सम्प्रेषण गरेको उनले जानकारी दिए । कार्यकारी अध्यक्ष झाले मातृभाषामा सञ्चालन गरिएको समाचार सेवा क्रमशः विस्तार गर्ने र राससबाट सम्प्रेषित अन्य सेवालाई पनि २४सै घण्टामा लैजाने सोच रहेको बताए ।
स्थापनाको ६५ वर्षको इतिहासमा राससले अनेकौँ उतारचढाव व्यहोरेको चर्चा गर्दै कार्यकारी अध्यक्ष झाले करिब चार वर्षको आफ्नो अनुभवबाट ‘नेपाली मिडिया’मा राससको असीमित सम्भावना रहेको पुष्टि भएको बताए । “हामीले परीक्षणका रूपमा ‘पोडकास्ट’ सेवा सुरु गरेका छौँ । अब नयाँ सम्भावनाको खोजीमा रासस जानुपर्छ,” उनले भने ।
रासस अझै पुराना ऐन, नियम विनियमावली र निर्देशिकाबाट सञ्चालित भइरहेको उल्लेख गर्दै उनले नयाँ युगलाई स्वीकार गर्ने गरी ५० वर्षका लागि दीर्घकालीन प्रकृतिको नीतिगत परिवर्तन गर्नुपर्ने बताए । कार्यकारी अध्यक्ष झाले पत्रकारहरूको पेसागत तथा भौतिक सुरक्षाका सन्दर्भमा राज्यसहित आमसञ्चार क्षेत्रमा गहन ढङ्गबाट बहस तथा छलफल हुनुपर्ने समय आएको उल्लेख गर्दै सरोकारवाला भएका सबैको सहयोगमा रासस र राससकर्मीका पक्षमा यथासक्य काम गरेको बताए ।
उनले मिथ्या सूचनाको बाढीले मुलुक र लोकतन्त्रलाई कमजोर बनाउन लागेको विद्यमान अवस्थामा मिथ्या र अफवाह सूचनाका कारण हुने क्षति न्यूनीकरण तथा नियन्त्रणका लागि राससको भूमिका अझै बढेको छ भने ।










