आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती

२०८२ फाल्गुन ९, शनिबार

काठमाडौँ : पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले लोकतन्त्रको स्थायित्व र सुशासनका लागि हुन गइरहेको निर्वाचनको महायज्ञलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने वातावरण बनाउन सबै राजनीतिक दल र उम्मेदवारलाई अपिल गरेका छन् ।

उनले राजनीतिक दल र उम्मेदवारबाट हुने शान्तिपूर्ण चुनावी प्रचारप्रसार र चुनावमा मतदाताको उत्साहपूर्ण सहभागिताले मात्र लोकतन्त्र फस्टाउने र मुलुकले समृद्धि हासिल गर्ने बताए।

पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेतीले भने, “राजनीतिलाई स्थिरता दिन नसके पनि निर्वाचन गराउने सिलसिलामा हामी अनुभवी छौँ । विगतका चुनौतीपूर्ण अवस्थामा पनि मतदाताको उत्साहपूर्ण सहभागितामा शान्तिपूर्ण रूपमा थुप्रै निर्वाचन गरिसकेका छाैँ ।”

उनकै नेतृत्वमा निर्वाचन आयोगले विसं २०७० मा संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न गरेको थियो । सोही संविधानसभाले नेपालको संविधान जारी गरेको थियो । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा केन्द्रित रही पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेतीसँग गरेको अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

मुलुक निर्वाचनको सम्मुखमा छ, यो निर्वाचनलाई कसरी हेर्नुभएको छ ?

आवधिक निर्वाचन प्रत्येक पाँच वर्षमा हुन्छ । त्यो कुन दिन, कुन मिति, कुन महिनामा हुन्छ भन्ने विषय पनि मतदातालाई पहिल्यै थाहा हुनुपर्छ । लोकतन्त्र र राजनीतिक स्थायित्व भएका देशमा यस्तो खालको व्यवस्था छ । प्रजातन्त्रको स्थायित्वका लागि आवधिक अवधि नपुगी बीचैमा निर्वाचन गराउन पर्ने अवस्था सकेसम्म आउन दिनुहुन्न । नेपालमा जुन अवस्थाका कारण निर्वाचन घोषणा भयो, त्यो वातावरण नआएको भए विसं २०८४ मा नियमित निर्वाचन हुन्थ्यो ।

योबीचमा सरकारले राम्रो काम गर्न सकेन, फलस्वरुप जेनजी आन्दोलनको बलमा बीचमै निर्वाचन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भयो । यद्यपि, जेनजी आन्दोलनमा निर्वाचनको माग उठेको थिएन । तत्कालीन सरकारको बहिर्गमनका सन्दर्भमा लोकतान्त्रिक प्रक्रियामा जानका लागि मध्यावधि निर्वाचन आवश्यक र अनिवार्य हुन पुग्यो । आजसम्म आइपुग्दा निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । प्रजातन्त्रमा निर्वाचनको विकल्प र अर्काे उपायको खोजी गर्न नपरोस् भन्ने सोचिन्छ ।

हामी लोकतान्त्रिक अभ्यासमा निकै अगाडि आइसक्यौँ । निर्वाचन गर्न र गराउने सिलसिलामा हामी अनुभवी छौँ । मतदाताको उत्साहपूर्ण सहभागितामा थुप्रै निर्वाचन गरिसकेका छौँ । तथापि, राजनीतिले स्थायित्व र सरकार स्थिर नहुँदा दुःख लाग्छ । यस पाटोमा सुधार गर्दै लैजानुपर्ने छ । जहाँसम्म यही फागुन २१ को निर्वाचनको विषय छ, यो त आइनै सक्यो । अब यसलाई शान्तपूर्ण वातावरणमा अवतरण गराउनुपर्छ ।

निर्वाचनलाई शान्तिपूर्ण बनाउने र विधिपूर्वक सम्पन्न गराउन मतदाताले मन परेको असल व्यक्ति र दललाई मत दिनुपर्छ । निर्वाचन परिणामका आधारमा गठन हुने सरकारले जनभावनाअनुरुप विकास र सुशासन प्रदान गर्न सक्नुपर्छ । त्यसका लागि प्रत्येक मतदाताको पनि उत्तिकै दायित्व छ । निर्वाचनमा राजनीतिक दल र उम्मेदवार विजयी तुल्याउन दर्शन र सिद्धान्तभन्दा ठूलो भूमिका मतदाताको रहन्छ, किनभने मतदाताको मतबिना निर्वाचनको अर्थ हुँदैन ।

मतदान शुद्ध हुनुपर्छ, मतमा स्वस्तिक चिह्न लगाउँदा यताउति हुनुभएन । विगत देखिकै प्रायः सबै निर्वाचनमा नेपाली मतदाताको उत्साहपूर्वक सहभागिता हुने गरेको छ । यस पटक पनि त्यही खालको वातावरण तयार गर्नुपर्छ । निर्वाचन आयोग, सरकार, राजनीतिक दल, उम्मेदवार र मतदाता सबै मिलेर निर्वाचनको महायज्ञको जिम्मेवारी र दायित्वलाई हामीले पूरा गर्नुपर्छ ।

निर्वाचनमा के कस्ता कुरालाई बढी चासोका साथ हेरिने गरिएको छ ?

निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको प्रतिनिधित्वको विषयलाई नै बढी चासो राखिन्छ । त्यो भनेको जसले चुनाव जित्ने हो, उसैलाई चासो दिइन्छ । निर्वाचनमा उठेका सबै उम्मेदवारले जित्न कोसिस गरे पनि त्यसको परीक्षा र मूल्याङ्कन मतदाताले गर्छन् । सुदूरपूर्व र पश्चिमका मतदाताले आपसमा सरसल्लाह नगरे पनि सामूहिक विद्वताबाट एउटा दर्शन बोकेको राजनीतिक दल र उम्मेदवार विजयी हुनसक्दछ ।

चुनावमा सबै उम्मेदवारलाई जित्ने निर्वाचन गर्न सकिन्न । जति निर्वाचन क्षेत्र र स्थान छ त्यसमा मात्र उम्मेदवारले जित्ने हो । सबै जित्ने होइन, तर नेपाल र लोकतन्त्रले जित्नैपर्छ । आगामी निर्वाचनबाट सकेसम्म विधिसम्मत रूपमा सम्पूर्ण वर्ग, क्षेत्र, समूह र लैङ्गिक प्रतिनिधित्व हुन सकोस् । निर्वाचनपछि बनेको सरकारले पूरा अवधि पाँच वर्ष सरकार चलाओस् । सदन पनि पूरा चलोस् । पाँच वर्षका लागि भनेर चुनाव गर्ने अनि विगतको जस्तो १७ वर्षमा १७ वटै सरकार ब्यहोर्नु नपरोस् ।

छोटो अवधि र संयुक्त सरकारले ठीक ढङ्गले कार्य सम्पादन गर्न नसक्दा नेपाली जनताको सुशासन, विकास र समृद्धिको चाहना ओझेलमा परिरहेको छ । निरन्तर सरकार परिवर्तन भएमा राजनीतिले पनि स्थायित्व प्राप्त गर्न कठिन हुन्छ । राजनीतिक स्थायित्व नभई विकासको प्रक्रिया अगाडि बढ्न सक्दैन । यो पटक मतदाताको सामूहिक विद्वताले असल नतिजा दिलाउन सक्नुपर्छ । त्यसका लागि विश्वास लागेको पात्र र दललाई मतदान गर्नुपर्छ, जसबाट मुलुकमा स्थायी सरकार दिलाउन सकियोस् ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र निष्पक्ष गराउन कसको कस्तो भूमिका रहन्छ ?

निर्वाचन खर्चिलो भयो भनिन्छ । हुन त राज्यको लागि पनि निर्वाचन खर्चिलो छ । निर्वाचन प्रक्रिया, विधि र प्रणालीका कारणले पनि निर्वाचन खर्चिलो भएको छ । राजनीतिक दल र उम्मेदवारबीच ज्ञान, विद्वता, अनुभव र दर्शनमा प्रतिस्पर्धा भए निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी हुन्छ । सिद्धान्त, प्रतिबद्धता र सङ्कल्पअनुसार जान सक्ने उम्मेदवार चुन्ने कि जसरी पनि जित्ने भन्नेलाई ? यो विषय महत्त्त्वूर्ण छ । जसरी पनि निर्वाचन जित्ने र संसद्मा पुग्ने अनि यसलाई व्यवसाय र जागिर बनाउने मानसिकता त्याग्नुपर्छ । जनताले यो विषयलाई ध्यानपूर्वक सोच्नुपर्छ ।

पछिल्लो समय निर्वाचन पैसाले होइन, निष्ठा र सिद्धान्तले जित्नुपर्छ भन्ने मान्यता हराउँदै गएको छ भनिन्छ नि !

निर्वाचनमा मतदाताले लोकतान्त्रिक सोच भएका, समाजसेवामा लागेका, सिद्धान्तप्रति प्रतिबद्ध र निष्ठावान उम्मेदवार पहिल्याउन सक्नुपर्छ । निर्वाचन खर्च तोकिएको सीमाभित्र रहेर गरिनुपर्छ । निर्वाचनमा अथाह खर्च गर्ने अनि कागजी प्रतिवेदनमा भने ठिक्क हिसाब देखाउने प्रवृत्ति रोक्नुपर्छ । चुनावमा बढी खर्च र तडकभडक प्रचारप्रसार गर्नेलाई अयोग्य घोषणा गर्ने अधिकार निर्वाचन आयोगलाई छ ।

राजनीतिक दल र उम्मेदवारले निर्वाचन प्रचारप्रसारका क्रममा मतदातासमक्ष राखेका विषय दिगो विश्वासनीय हुनुपर्छ । प्रसारप्रसारलाई शान्तिपूर्ण ढङ्गबाट नै लैजानुपर्छ । एकअर्कालाई आरोप प्रत्यारोप गर्नहुन्न । निर्वाचलाई निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षालाई चुस्त बनाउनुपर्छ । निर्वाचनमा मतदान गर्नु सबै मतदाताको कर्तव्यलाई बिर्सनुहुन्न ।

सोचेर मतदान गर्नुपर्छ । मत खेर फाल्नुहुन्न । घरको कामको चापलाई पनि समयको व्यवस्थापन गरी मतदान गर्नुपर्छ । मतदान भनेको भगवानलाई अर्चना र अर्पण गरेजस्तै देशको भविष्य र हितका लागि अमूल्य दान हो । यसमा कोही पनि छुट्नु र कसैलाई पनि छुटाउनुहुन्न । राजनीतिक दल र उम्मेदवारले पनि मतदान गर्ने विधि र प्रक्रिया ठीक ढङ्गले सिकाउन र बुझाउन जरुरी छ ।

निर्वाचन प्रचारप्रसारमा राजनीतिक दल र उम्मेदवारले के कस्ता कुरामा बढी ध्यान दिनुपर्छ ?

आवधिक निर्वाचन नौ महिना वा एक वर्ष सरकार चलाउनका लागि भएको होइन । निर्वाचनमा अब स्थायी सरकार बनाउँछु भनेर मतदाताले कसरी थाहा पाउने ? त्यो सबैभन्दा ठूलो प्रश्न छ । सरकारमा जाने र पाँच वर्षसम्म निरन्तर काम गर्न नसक्ने स्थिति कसले सिर्जना गरेको हो ? मतदाताले मतहाल्नुअघि विश्लेषण गर्नुपर्छ ।

हुन त त्यसमा केही हदसम्म राजनीतिक दल, मतदाता स्वयं र निर्वाचन प्रणालीको पनि दोष भनिन्छ । सदनमा धेरै राजनीतिक दल भए भने स्थायित्व हुन्न भन्ने मत पनि छ । यसमा मतदाताको विद्वताको परीक्षण पनि हुन्छ । उहाँहरूको विद्वताले कसको सरकार गठन हुने र विकासको मार्ग कसरी अगाडि बढ्छ भन्ने निर्धारण गर्छ । निर्वाचनपछि गठन हुने सरकारले सम्पूर्ण देशको क्षमता र अवस्थाका आधारमा सुझबुझपूर्ण ढङ्गले मुलुकलाई समृद्धितर्फ लैजान सक्नुपर्छ ।

मुलुक निर्वाचनमय भएको छ, यसबेला सरकार र आयोगको भूमिका कस्तो रहन्छ ?

सरकारले निर्वाचन आयोगलाई निर्वाचन प्रक्रियाका लागि आवश्यक पर्ने सबै खालको स्रोतसाधन र शान्ति सुरक्षाका हिसाबले राजनीतिक दल, उम्मेदवार र मतदातालाई निर्वाचनमा ढुक्कसँग भाग लिने वातावरण मिलाउनुपर्छ ।

सरकारले मुलुकको समग्र सुरक्षा अवस्थाको मूल्याङ्कन गरी कुन निर्वाचन क्षेत्र, कुन ठाउँ र कुन मतदान केन्द्रमा सुरक्षा चुनौती छ, त्यसको विश्लेषण गरी आवश्यक प्रबन्ध मिलाउनुपर्छ ।

हामी निर्वाचनमा अनुभवी छौँ । चुनावी प्रचारप्रसारदेखि मतदान, मतपेटिका ढुवानी, मतगणना र विजय जुलुस निस्कने बेलासम्मको सुरक्षा व्यवस्था चुस्त हुनुपर्छ । त्यसका लागि प्रत्यक्ष सरोकार भएका पक्ष राजनीतिक दल र उम्मेदवारले आवश्यक वातावरण बनाउन सहयोग पुर्याउनुपर्छ ।

निर्वाचनमा प्रचारप्रसारको समयमा राजनीतिक दल र उम्मेदवारले अपनाउनुपर्ने सजगताबारे के भन्नुहुन्छ ?

यस पटक यही फागुन ४ देखि १८ गतेसम्मका लागि निर्वाचन प्रचारप्रसारको समय तोकिएको छ । यस अवधिमा के के गर्न पाइन्छ, के गर्नुहुन्छ, के गर्नुहुँदैन भन्ने विषयमा निर्वाचन आचारसंहितामा स्पष्ट लेखिएको छ । निर्वाचनमा सबै राजनीतिक दल र उम्मेदवारले भद्र ढङ्गबाट चुनाव प्रचारप्रसार गर्न पाउनुपर्छ । आफ्नो पक्षमा चुनाव प्रचारप्रसार गर्दा अर्काे पक्षको विरोध गर्न पाइन्न ।

हाल निर्वाचन प्रचारप्रसारको सन्दर्भमा प्रविधिको प्रयोगको अभ्यास बढेको छ । अर्काे पक्षलाई आरोपप्रत्यारोप मात्र होइन, द्वेष र घृणा फैलाउने तथा अनर्गल प्रचार गर्नुहुन्न । आफ्ना राम्रा पक्ष र उद्देश्य मात्र प्रचारप्रसार गरिनुपर्छ । यसका लागि मतदाता शिक्षा र चुनाव प्रसारप्रसारको माध्यम सामाजिक सञ्जाल अत्यन्त प्रभावकारी देखिएको छ ।

निर्वाचनमा मौन अवधिलाई अलि पेचिलो र विशेष रूपमा किन हेरिन्छ ?

चुनावी प्रचारप्रसार जताततै भइरहेको छ । कतिपय स्थानमा एकअर्का दलका उम्मेदवार आपसमा अङ्कमाल गर्दै भोट मागिरहेको पनि देखिन्छ । यो असल पक्ष हो । निर्वाचन प्रचारप्रसारको अन्त्यतिर वातावरणलाई शान्त तुल्याउन र मतदातालाई कुन उम्मेदवारलाई मत प्रदान गर्न ठीक होला भनी सोच विचार गर्नका लागि मौन अवधिको व्यवस्था गरिएको हो ।

जोडतोडमा भइरहेको प्रचारप्रसार सकेर निर्वाचनको ठूलो महायज्ञको वातावरण बनाउन मौन अवधिको अत्यन्त महत्त्व छ । त्यो समयमा राजनीतिक दल र उम्मेदवारले निर्वाचन आचारसंहिताविपरीत कुनै पनि कार्य गर्नहुन्न । शान्तपूर्वक बस्नपर्छ । मतदातालाई प्रभाव पार्ने ढङ्गबाट कुनै पनि कुरा गर्न पाइन्न । निर्वाचनको पवित्रतामाथि आक्षेप र प्रभाव पार्ने कुनै कार्य गरिनुहुन्न ।

अन्त्यमा मतदातालाई यहाँको केही सन्देश छ ?

लोकतन्त्र बचाउने जिम्मेवारी मतदाता, राजनीतिक दल र उम्मेदवारको हो । हामीले नै लोकतन्त्रलाई स्थिर र स्थायी बनाउनुपर्छ । मतदाताको विद्वता र विचारका आधारमा असल उम्मेदवार छनोट गर्न सक्नुपर्छ । दर्शनमा फरक भए पनि मतदान शुद्ध र स्वच्छ भावनाले हुनुपर्छ । तोकिएको समयावधिभित्र मतदान केन्द्रमा पुगी मतखेर नजाने ढङ्गबाट मतदान गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार