काठमाडौं : बिहीबार प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । निर्वाचन पूर्वसन्ध्यामा अभिनेता राजेश हमालले भिडियो सन्देश जारी गर्दै मतदातालाई सुझबुझ र विवेक प्रयोग गरेर मतदान गर्न आग्रह गरेका छन् ।
फेसबुकमार्फत सार्वजनिक भिडियोमा हमालले अहिलेको अवस्थामा राजनीतिक ऐक्यबद्धता र स्थिरता अत्यन्त आवश्यक रहेको बताएका छन् । उनका अनुसार देशको अस्तित्वका लागि पनि राजनीतिक स्थिरता जरुरी छ ।
अमेरिका र इजरायलको नाम नलिइकन उनले केही दिनअघि शक्तिशाली राष्ट्रले अनुमतिबिनै इरानमा आक्रमण गरेको प्रसंग उल्लेख गर्दै विश्व राजनीतिक परिस्थिति अस्थिर बन्दै गएको बताए । यस्तो अवस्थामा नेपालजस्तो सानो राष्ट्र अझ संवेदनशील र कमजोर स्थितिमा पुग्न सक्ने उनले तर्क गरे ।
हमालले भदौ २३ र २४ मा भएका घटनाको पृष्ठभूमिमा देश चुनावतर्फ अघि बढिरहेको उल्लेख गरे । उनले ती दिनमा भएका कहालीलाग्दा घटनाबारे र राष्ट्रिय सम्पदामा भएको क्षतिका विषयमा अझै स्पष्ट जवाफदेहिता नदेखिएको बताए । ती घटनाहरू आपसमा सम्बन्धित थिए वा थिएनन् भन्नेबारे पनि नेपाली जनताले स्पष्ट जानकारी नपाएको उनले बताए ।
उनले यसपटकको निर्वाचन आफ्ना लागि अत्यन्त संवेदनशील र चुनौतीपूर्ण भएको बताए । मतदातासामु पुराना राजनीतिक दलहरूको धमिलिएको छवि र नयाँ शक्तिको राजनीतिक अपरिपक्वता दुवै पक्ष रहेको उल्लेख गर्दै सही निर्णय लिन कठिनाइ हुने उनले बताएका छन् ।
आजको भू-राजनीतिक परिस्थितिमा नेपालमा राजनीतिक स्थिरता र ऐक्यबद्धता नआए देशको स्वतन्त्रता र सार्वभौमसत्तामै असर पर्न सक्ने जोखिम हमालले औंल्याएका छन् । त्यसैले मतदाताले गम्भीरतापूर्वक सोचेर आफ्नो मत प्रयोग गर्नुपर्ने उनले आग्रह गरे ।
उनले मतदाताले आफ्नो मतमार्फत कसलाई शक्ति हस्तान्तरण गरिरहेका छन् र ती व्यक्तिले विश्वको अस्थिर राजनीतिक परिस्थितिमा नेपाललाई कसरी अघि बढाउनेछन् भन्ने विषय गहिराइका साथ विचार गर्नुपर्ने बताए ।
हमालले अहिले राजनीतिमा सहकार्यभन्दा शक्ति संघर्ष बढी हाबी हुँदै गएको पनि उल्लेख गरे । नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था कमजोर हुँदै गइरहेको अवस्थामा नेपालजस्तो सानो राष्ट्रको स्थिति अझ संवेदनशील बन्न सक्ने उनले बताए ।
उनले मतदातालाई कुनै दबाबमा नपरी वर्तमान परिस्थिति र संवेदनशीलतालाई ध्यानमा राखेर मतदान गर्न आग्रह गरे । ‘हाम्रो अगाडि छनोट सजिलो छैन, चुनौतीपूर्ण छ । त्यसैले सुझबुझ र संयमताका साथ मतदान गर्नुपर्छ,” उनले भने । उनले नेपालको राजनीतिले देशलाई सही निकास दिन सकोस् भन्ने कामना पनि व्यक्त गरेका छन् ।









