काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका दुई जना नेताहरूलाई जिम्मेवारीबाट हटाएका छन् ।
अध्यक्ष लिङ्देनले उपाध्यक्ष दिल विकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यलाई उनीहरूले सम्हाल्दै आएको जिम्मेवारीबाट मुक्त गरेका हुन् । दुवै जनालाई पार्टीको साधारण सदस्यको हैसियतमा मात्र रहने गरी अन्य जिम्मेवारीबाट हटाइएको बताइएको छ ।
पार्टी स्रोतका अनुसार उनीहरूमाथि निर्वाचनका क्रममा पार्टीलाई असहयोग गरेको आरोप लागेको छ । साथै सामाजिक सञ्जालमार्फत पार्टीलाई अहित हुने खालका अभिव्यक्ति दिने गरेको आरोप पनि उनीहरूमाथि लगाइएको छ । राप्रपाका एक नेताका अनुसार सामाजिक सञ्जालमा उनीहरूले पार्टीविरुद्ध टिप्पणी गर्ने गरेपछि कारबाही गरिएको हो ।
राजभण्डारी र आचार्य दुवैलाई अध्यक्ष लिङ्देनले यसअघि मनोनित गरेका थिए ।









