काठमाडौं : रियल मड्रिडले स्पानिस ला लिगामा एल्चेलाई ४-१ ले पराजित गरेको छ ।
यो जितपछि रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी १ मा झारेको छ । दोस्रो स्थानको रियलले २८ खेलबाट ६६ अंक जोडेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ६७ अंक छ । पराजित एल्चे २८ खेलबाट २६ अंकसहित १५औं स्थानमा छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलका एन्टोइन डिगरले ३९औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
फेडेरिको भालभर्डले ४४औं मिनेटमा गोल गर्दै पहिलो हाफमै रियललाई २-० को अग्रता दिलाए । डिन हुइसेनले ६६औं मिनेटमा गोल गरेपछि रियलले ३-० को अग्रता बनायो ।
रियलका मानुएल एन्जलले आत्मघाती गोल गर्दा एल्चेले एक गोल फर्काएको तियो । तर अर्दा गुलेरले ८९औं मिनेटमा गोल गर्दै रियलको जित सुनिश्चित पारेका थिए ।









