महाकाली नदीमा व्यावसायिक राफ्टिङ सुरु

२०८२ चैत्र २, सोमबार

महेन्द्रनगर : नेपाल–भारत सीमा नदी महाकालीमा साहसिक जलयात्रा व्यवसायिक रूपमा सञ्चालनमा आएको छ । पानी सप्ताहको अवसर पारेर विभिन्न सरोकारवाला निकायको पहलमा  राफ्टिङको व्यावसायिक सुरुआत गरिएको हो ।

सन् २०२१ मा सफल परीक्षण गरिएको महाकाली नदीमा आजदेखि औपचारिक रूपमा  राफ्टिङ सञ्चालन सुरु गरिएको हो । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टीस्थित साइलेट रिभर क्षेत्रबाट राफ्टिङ सञ्चालनमा ल्याइएको हो । गैरसरकारी संस्था निड्स नेपालको अगुवाइमा जिल्लास्थित विभिन्न संस्था तथा निजी क्षेत्रसँगको सहकार्यमा प्याकेजमार्फत राफ्टिङ सेवा उपलब्ध गराइने जनाइएको छ । निड्स नेपाल, होटल व्यवसायी सङ्घ, उद्योग वाणिज्य सङ्घ, यातायात समिति, नाटालगायत पर्यटन व्यवसायीहरूको सहकार्यमा राफ्टिङ सञ्चालन हुने बताइएको छ ।

हाल अड्रिफ्ट एडभेन्चर प्रालिअन्तर्गत दुईवटा राफ्टिङ बोट सञ्चालनमा ल्याइएका छन् । निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले लामो अध्ययनपछि महाकाली नदीमा व्यावसायिक राफ्टिङ सुरु गरिएको बताए । उनका अनुसार सन् २०१७ मा महाकाली नदीको बहुउपयोग परियोजनाअन्तर्गत -याफटिङको सम्भाव्यता अध्ययन सुरु गरिएको थियो ।

जसमा अक्सफामलगायततका विभिन्न साझेदार संस्थाहरूको पनि सहभागिता रहेको थियो । उक्त अध्ययनअनुसार नेपालतर्फ डडेल्धुराको परशुराम नगरपालिका क्षेत्रबाट करिब १४ किलोमिटर र मसेट्टीदेखि खल्लासम्म आठ किलोमिटर दूरीमा साहसिक जलयात्रा सञ्चालन गर्न सकिने देखिएको थियो । भारततर्फ भने दुईवटा कम्पनीले सन् २०१५ देखि नै नियमित रूपमा राफ्टिङ सञ्चालन गर्दै आएका छन् ।

राफ्टिङ सञ्चालनका लागि स्थानीय राफ्टिङ चालक किशन भट्टलाई जिम्मेवारी दिइएको छ । पाँचदेखि १० जनासम्मको समूहले प्याकेज खरिद गरी राफ्टिङ गर्न सक्ने व्यवस्था मिलाइएको छ । कञ्चनपुर होटल व्यवसायी सङ्घका अध्यक्ष रामचन्द्र रेग्मीले निजी क्षेत्र राफ्टिङ सञ्चालन र पर्यटन प्रवर्द्धनका लागि तयार रहेको बताए।

नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सीजका निवर्तमान अध्यक्ष शिव अधिकारीले महाकाली नदीमा राफ्टिङको राम्रो सम्भावना रहेको बताए । करिब २५ वर्षदेखि नेपालका ठूला नदीमा राफ्टिङ व्यवसाय सञ्चालन गरिरहनुभएका उनले कम जोखिम र सहज जलयात्रा रुचाउने पर्यटकका लागि महाकाली उपयुक्त नदी रहेको बताए । नेपाल पर्यटन बोर्डले पनि राफ्टिङ पर्यटनको प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले राफ्टिङ प्रवर्द्धन तथा आवश्यक पूर्वाधार निर्माणमा पालिकाले प्राथमिकता दिने बताए । त्यस्तै दोधराचाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बूले पनि राफ्टिङको विकास तथा प्रचारप्रसारका लागि पालिका सहकार्य गर्न तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार