तेल अभिभ : इजरायलको संसद्ले प्यालेस्टिनीलाई मृत्युदण्ड दिने कानुन पारित गरेको छ । मंगलबार घातक आक्रमणमा दोषी ठहरिएका प्यालेस्टिनीलाई मृत्युदण्ड दिने कानुन पारित गरेको हो । युरोपेली देशलगायत कैयौँ अन्तर्राष्ट्रिय मानव अधिकार समूहले कानुनलाई भेदभावपूर्ण भन्दै कडा आलोचना गरिरहेकै समयमा यो कानुनले मञ्जुरी पाएको हो ।
यो कानुनले इजरायलको कब्जामा रहेको पश्चिम किनारका प्यालेस्टिनीहरू आतंकवादी गतिविधि मान्न सकिने घातक आक्रमणमा जानाजान संलग्न भएको सैन्य अदालतले ठहर गरे तिनले स्वतः मृत्युदण्डको सजाय पाउने व्यवस्था गरेको छ । पारित विधेयकअनुसार मृत्युदण्डको सजाय सुनाइएकाहरूलाई छुट्टै जेलमा राखिनेछ । त्यस्तै तिनलाई अधिकृत कर्मचारीबाहेक अरू कसैले भेटघाट गर्न पाउने छैनन् । उनीहरूलाई भिडियो लिंकद्वारा मात्र कानुनी परामर्श दिन सकिनेछ ।
सजाय सुनाएको ९० दिनभित्र मृत्युदण्ड दिइसक्नुपर्ने व्यवस्था कानुनले गरेको छ । इजरायलको सरकारी टेलिभिजन केएएनका अनुसार दोषीलाई मृत्युदण्ड झुन्ड्याएर दिइनेछ ।
नयाँ विधेयकको कार्यान्वयनसँगै अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हुन सक्ने र यसको कार्यान्वयनमा संलग्न इजरायली अधिकारी भविष्यमा विदेशमा पक्राउ पर्न सक्ने अधिकारकर्मीले चेतावनी दिएका छन् । इजरायलमा नागरिक अधिकार क्षेत्रमा काम गर्ने संघसंस्थाले सर्वाेच्च अदालतमा यो कानुनविरुद्ध मुद्दा दायर गरेका छन् ।
सर्वाेच्च अदालतसँग समीक्षा गरेर यो कानुन खारेज गर्ने अधिकार छ ।









