मुद्दा चलाउने आधार र पर्याप्त प्रमाण नपुगेपछि छुटे : ओली

२०८२ चैत्र २६, बिहीबार

काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी रूपमा आफूलाई नियन्त्रणमा राखेको आरोप लगाएका छन् ।

रिहाइपछि सामाजिक सन्जालमा आफ्नो धारणा राख्दै ओलीले मुद्दा चलाउने आधार र पर्याप्त प्रमाण नपुगेपछि आफू छुटेको स्पष्ट पारे । उनले आफ्नो रिहाइका लागि आवाज उठाउने न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, न्यायकर्मी, विभिन्न राजनीतिक दल तथा नेताहरू र सञ्चारकर्मीप्रति आभार व्यक्त गरेका छन् । साथै उनले परमादेश जारी गर्ने सर्वोच्च अदालतप्रति उच्च सम्मान पनि व्यक्त गरेका छन् ।

प्रहरी नियन्त्रणमा रहँदा आफूलाई मानवीय व्यवहार गरिएको उल्लेख गर्दै ओलीले प्रहरी प्रशासनप्रति आफू कृतज्ञ रहेको बताएका छन् । स्वास्थ्य उपचारमा संलग्न त्रिवि शिक्षण अस्पताल परिवारलाई पनि उनले धन्यवाद दिएका छन् । आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले उनीहरूको उपचार खर्च राज्यले बेहोर्नुपर्ने बताएका छन् ।

राज्य उदासीन भए पार्टीले नै उपचार खर्च बेहोर्ने जानकारीसमेत उनले दिएका छन् । स्वास्थ्य अवस्था अझै पूर्ण रूपमा सामान्य नभएकाले केही दिन अस्पतालमै उपचार गराउने जानकारी दिँदै उनले सम्पूर्ण शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार