शेयरसम्बन्धी विवादमा निष्पक्ष छानबिन होस् : सुधन गुरूङ

२०८३ बैशाख ९, बुधबार

काठमाडौँ : गृहमन्त्री सुधन गुरूङले पदबाट राजीनामा दिएका छन्। उनले दीपक भट्टसँग जोडिएको शेयरसम्बन्धी विषयमा उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिँदै नैतिक जिम्मेवारीस्वरूप पद त्याग गरेको बताएका छन्।

बुधबार सार्वजनिक वक्तव्य जारी गर्दै उनले १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै आएको उल्लेख गरे।

पछिल्ला दिनहरूमा आफ्नो शेयरसम्बन्धी विषयमा उठेका प्रश्नलाई ध्यानमा राख्दै निष्पक्ष छानबिनका लागि पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले तत्काल लागू हुने गरी राजीनामा दिएको उनले स्पष्ट पारे।

गुरुङले पदभन्दा ठूलो नैतिकता र जनविश्वास भएको उल्लेख गर्दै देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठेको जेन-जी आन्दोलनले सार्वजनिक जीवन स्वच्छ हुनुपर्ने सन्देश दिएको बताए।

उनले ४६ जनाको बलिदानबाट बनेको सरकारमाथि उठेका प्रश्नको जवाफ नैतिकताबाटै दिनुपर्ने उल्लेख गरेका छन्।

राजीनामासँगै उनले सञ्चारकर्मी, नागरिक र युवालाई सत्य, इमानदारी र आत्मशुद्धिको मार्गमा उभिन आह्वान पनि गरेका छन्।

साथै केही सञ्चारकर्मीहरूको शेयरसम्बन्धी विषयहरू पनि विस्तारै सार्वजनिक हुने संकेत गरेका छन्।

‘मेरो देशका लागि, सुरक्षा निकायको सम्मानका लागि र नेपालका युवाहरूका लागि मैले यो निर्णय लिएको हुँ,’ गुरुङले वक्तव्यमा उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार