काठमाडौँ : आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा ओमानसामु जितका लागि २ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल एक बल अगावै २ सय ५६ रनमा अलआउट भयो।
नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ९४ रनको योगदान दिए। उनले ९७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दा नदिम खानको बलमा क्याच आउट भए।
दोस्रो विकेटका लागि आशिफ र अर्जुन कुमालले १ सय २२ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए।
अर्जुन कुमालले ४८ रन थपे। उनले ८७ बलमा ४ चौका प्रहार गरे। गुल्सन झा १७ रन बनाउँदा एलबीडब्लु धरापमा परे। कप्तान रोहित पौडेलले ९ रन बनाए। विनोद भण्डारी र करण केसी डक आउट भए।
दीपेन्द्रसिंह ऐरी ३३ रन बनाउँदा नदीम खानको बलमा बोल्ड आउट भए। नन्दन यादव २ रन बनाउँदा सकिल अहमदको बलमा बोल्ड आउट हुन पुगे। सन्दीप लामिछाने १ रनमा रनआउट भए।
२३ बलमा १ चौका र ४ छक्का प्रहार गरेका आरिफ शेख ४३ रनमा क्याच आउट हुन पुगे। ललित राजवंशी शुन्यमा नै अविजित रहे।
ओमानका लागि नदिम खानले ३ विकेट लिए। सकिल अहमद र हसनैन शाहले समान २ विकेट लिए आफ्नो नाममा गरे। जितेन रामानन्दी र आर्यन विष्टले समान एक विकेट लिए।
ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।










