काठमाडौँ : नेकपा एमालेकी सांसद पद्मा अर्यालले संसदमार्फत सरकारसँग जवाफ माग्ने र प्रधानमन्त्रीलाई उत्तरदायी बनाउने कर्तव्य प्रतिपक्षी दलको भएको बताएकी छिन्।
आफूहरूले सदनमा प्रतिपक्षको कर्तव्य निर्वाह गरिरहेको भन्दै अर्यालले संसद् सरकारको भजन गाउने थलो नभएको प्रस्ट पारिन्। प्रतिपक्षका सांसदहरू बोलेलगत्तै सत्तापक्षका सांसदहरूले प्रतिउत्तर दिइहाल्ने गरेकामा पनि उनले आपत्ति जनाइन्।
‘प्रतिपक्षका सांसदहरू बोलिसकेपछि सत्तापक्षका सांसदहरूले पटकैपिच्छे लर्कार्नुपर्ने। संसद् भनेको प्रतिपक्षको हो। सरकारको भजन मात्रै गाउने, प्रशंसा मात्रै गर्ने थलो होइन,’ उनले भनिन्।
दलहरूबिच सहमति भइसकेपछि पनि सत्तारूढ दलकै हिसाबले पेलेर बैठक चलाउन खोजेको उल्लेख गर्दै अर्यालले सभामुखले आफूहरूको भावनालाई कुल्चिएको महसुस भएको बताइन्।





