काठमाडौँ : अभिनेत्री वर्षा सिवाकोटी चलचित्र ‘गंगा रानी’मा अनुबन्धित भएकी छिन्।
सिवाकोटीलाई औपचारिक रूपमा स्वागत गर्दै निर्माण टिमले एक पोस्टर सार्वजनिक गरेको छ। रातो पहिरनमा देखिएकी वर्षा आत्मविश्वासी र आकर्षक अवतारमा प्रस्तुत भएकी छिन्। उनको अगाडि एक युवकको कालो छाया देखाइएको छ। ती व्यक्ति को हुन त्यो खुलाइएको छैन।
पृष्ठभूमिमा पुराना घर देखाइएको छ। सुनौलो तथा मधुरो प्रकाशको प्रयोगले पोस्टरलाई भावनात्मक र रहस्यमय बनाएको छ। चलचित्रको छायांकन भदौ दोस्रो हप्ताबाट सुरु गरिने निर्देशक राजबहादुर साने बताउँछन्। आहा फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रका निर्माता कमलप्रसाद शर्मा हुन्। चलचित्रमा लेखन पनि निर्देशक सानेकै रहनेछ।
योसँगै निर्माण टिमले कास्टिङ कलको आह्वान पनि गरेको छ। टिमले मुख्य पात्रहरूमा ४ महिला र ४ पुरुष आह्वान गरेको हो। आहा फिल्मस्को प्रस्तुतिमा निर्माण भएको तथा निर्देशक सानेले नै निर्देशन गरेको चलचित्र ‘लज्जावती’ प्रदर्शनको तयारीमा छ।





