काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठको आकस्मिक समयमा सांसदहरूले जनजीवनका सवाल र बेमौसमी वर्षाका कारण उत्पन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकमा सांसद साजिदा खातुन सिद्धिकीले ‘डायलाइसिस’ गर्ने मेसिन देशका सबै अस्पतालमा उपलब्ध गराउन माग गरिन् ।
सांसद खड्गबहादुर शाहीले मुगुमा यार्सागुम्बा सङ्कलनका क्रममा यही जेठ १० गते टाँकेखोलामा लेक लागेर पेमा लामाको निधन भएको र अहिलेसम्म लास उठाउन नसकिएको समस्या राखे ।
सांसद जनकसिंह धामीले कञ्चनपुरको शुक्लाफाँटा क्षेत्रमा वीरेन्द्र ठगुन्ना र उनको परिवार बाघको आक्रमणबाट घाइते भएको विषयमा ध्यानाकर्षण गराउँदै वन्यजन्तुको आक्रमणबाट हुने यस किसिमको क्षति नियन्त्रण गर्न माग गरे ।





