काठमाडौं । चलचित्र ‘गौँथली’ को टिजर सार्वजनिक भएको छ । टिजरले कथावस्तु, चरित्र चित्रण र फिल्मको आयामबारे संक्षिप्त प्रकाश पार्छ ।
आमाले छोरीको घर बसाउन गरेको प्रयास र छोरीले घरमा भोग्नु परेको व्यवहारलाई टिजरले देखाएको छ । श्रीमानको फरक व्यवहारबाट आजित भएकी श्रीमतीले घरमा सहनु परेको कहर र छोरीको राम्रो परिवार चाहने आमाको प्रयास देखाइएको छ ।
पढ्ने रहर हुँदाहुँदै भएको विवाह, सोझो र इमान्दार भनेर सोचेको श्रीमान नै खराब भएपछिको अवस्था र जन्म दिने आमा छोडेर कर्म दिने आमाको काखमा पुगेकी बुहारीले भोग्नु परेको कष्टले दर्शकको ध्यान खिच्छ । श्रीमानको भूमिकामा अरुण क्षेत्री देखिएका छन् भने श्रीमतीको भूमिकामा सिम्रन खड्का छिन् । असामान्य अरुणको व्यवहार र कलिलो उमेरमै विवाह गरेकी सिम्रनको कथाले दर्शकलाई भावुक बनाउँछ ।
फिल्म ‘गौँथली’ साउन १ गतेबाट प्रदर्शनमा आउँदैछ । दन्त चिकित्सक समेत रहेका कपिल रिजालले निर्देशन गरेको यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपालीको पनि अभिनय छ ।





