विश्वकपमा नयाँ ११ नियम

२०८३ जेष्ठ १८, सोमबार

काठमाडौँ : फिफाका रेफ्री प्रमुख पियरलुइगी कोलिनाले बताएअनुसार २०२६ फिफा विश्वकपमा गोलकिपर घाइते हुँदा खेलाडीहरूले प्रशिक्षकसँग कुरा गर्न टेक्निकल एरियामा जान नपाउने भएका छन्। साथै,अन्तर्राष्ट्रिय फुटबल एसोसिएसन बोर्ड आइएफएबीले भिडियो सहायक रेफ्री (भीएआर) सम्बन्धी प्रोटोकल परिवर्तनलाई पनि स्वीकृति दिएको छ। अब खेलमा आउनुअघि भएको टोलीको फाउल सम्बन्धी घटनाहरू पनि भिएआर मार्फत समीक्षा गर्न सकिनेछ।

पछिल्ला केही वर्षमा प्रशिक्षकहरूले गोलकिपरको चोटलाई रणनीतिक रूपमा प्रयोग गर्ने प्रवृत्ति बढेको छ। यस क्रममा गोलकिपर मैदानमा बसेर वा लडेर उपचारको सङ्केत दिन्छन्। त्यसपछि अन्य खेलाडीहरू टच लाइनमा गएर प्रशिक्षकबाट नयाँ निर्देशन लिन्छन्। नोभेम्बरमा डानियल फर्क ले जियानलुइगी डोनारुमा माथि चोटको बहाना बनाएर खेल रोक्ने र खेलको लय बिगार्ने आरोप लगाएका थिए।

आइएफएबीले यस विषयमा अध्ययन गरे पनि अहिलेसम्म नियममा औपचारिक परिवर्तन गरेको छैन। तर विभिन्न लिगहरूलाई २०२६–२७ सिजनभर परीक्षण सञ्चालन गर्न आग्रह गरिएको छ।

अमेरिकाको महिला व्यावसायिक लिग नेसनल ओमेन्स सकुर लिगले यस वर्षदेखि अस्थायी नियम लागू गरेको छ। त्यसअनुसार गोलकिपर घाइते हुँदा अन्य खेलाडीहरू आफ्नो स्थानमै बस्नुपर्छ वा केन्द्र वृत्त गोलबद्ध भएर जम्मा हुनुपर्छ। प्रशिक्षकसँग छलफल गर्न टच लाइनमा जान पाइँदैन। फिफाले पनि विश्वकपमा यही अवधारणा लागू गर्नेछ।

कोलिनाले भने, “गोलकिपर घाइते हुन सक्छन्, तर अन्य खेलाडीहरूलाई मैदान छोडेर प्रशिक्षकसँग टाइम आउट जस्तो बैठक गर्ने अधिकार छैन।”

उनका अनुसार रेफ्रीहरू यस नियम कार्यान्वयनमा सक्रिय रहनेछन्। यद्यपि यदि खेलाडीहरू प्रशिक्षकतर्फ जान खोजे भने तत्काल पहेँलो कार्ड वा अन्य अनुशासनात्मक कारबाही गरिने छैन।

फिफा विश्वकप २०२६ मा परिवर्तन हुन लागेको नियमहरू के के हुन् ?

१. गोलकिपर ‘ट्याक्टिकल टाइम आउट’ मा रोक

पहिले केही टोलीहरूले गोलकिपरलाई सामान्य चोट लागेको जस्तो देखाएर खेल रोक्थे र त्यसबिच खेलाडीहरू प्रशिक्षककहाँ गएर रणनीतिक निर्देशन लिने गर्थे। अब गोलकिपर घाइते हुँदा अन्य खेलाडीहरू टचलाइन वा बेन्चतिर जान पाउने छैनन्।

२. थ्रो-इनमा ५ सेकेन्ड नियम

यदि कुनै खेलाडीले जानाजानी थ्रो-इन लिन ढिलाइ गर्‍यो भने रेफ्रीले ५ सेकेन्डको काउन्टडाउन सुरु गर्नेछन्। यदि सो समयभित्र थ्रो-इन नभए बल विपक्षी टोलीलाई दिइनेछ।

३. गोल-किकमा ५ सेकेन्ड नियम

गोल-किक लिन ढिलाइ गरेमा रेफ्रीले काउन्टडाउन गर्नेछन् र समय सकिएपछि विपक्षी टोलीलाई कर्नर दिइन सक्छ।

४. प्रतिस्थापनका लागि १० सेकेन्ड सीमा

मैदानबाट निस्कने खेलाडीले १० सेकेन्डभित्र नजिकको स्थानबाट मैदान छोड्नुपर्छ। ढिलाइ गरेमा नयाँ खेलाडी कम्तीमा १ मिनेटसम्म मैदान प्रवेश गर्न पाउने छैन। यस्तोमा केही समय १० खेलाडीसँग खेल्न बाध्य हुनेछ।

५. उपचारपछि १ मिनेट मैदानबाहिर बस्नुपर्ने

फिजियोद्वारा उपचार गरिएका खेलाडीले कम्तीमा ६० सेकेन्ड मैदानबाहिर बस्नुपर्नेछ। तर त्यो गोलकिपर, गम्भीर प्रकृतिको चोट र विपक्षी खेलाडीलाई कार्ड दिइएको घटनामा लागू हुनेछैन।

६. भीएआर को अधिकार विस्तार

गलत रूपमा दिइएको कर्नर, दोस्रो पहेँलो कार्डपछि दिइएको रातो कार्ड, गलत खेलाडीलाई कार्ड दिइएको अवस्था र सेट-पिसअघि भएको आक्रमणकारी फाउल (जस्तै कर्नर अघि डिफेन्डरलाई रोक्ने कार्य) को अवस्थामा भीएआर प्रयोग गर्न सकिनेछ।

७. दोस्रो पहेँलो कार्डको समीक्षा

पहिले भीएआरले दोस्रो पहेँलो कार्डको समीक्षा गर्न सक्दैनथ्यो। अब दोस्रो पहेँलोका कारण रातो कार्ड पाएको अवस्थामा भीएआरले निर्णय पुनः जाँच गर्न सक्नेछ।

८. मुख छोपेर विवाद गरे रातो कार्ड

यदि कुनै खेलाडीले विपक्षी वा रेफ्रीसँग विवाद गर्दा आफ्नो मुख हातले, जर्सीले वा बाहुलाले छोप्यो भने उसलाई सिधै रातो कार्ड दिइन सक्नेछ।

९. रेफ्रीको विरोधमा मैदान छोडे रातो कार्ड

यदि खेलाडी वा टोलीका अधिकारीहरूले रेफ्रीको निर्णयको विरोधमा मैदान छोडे वा खेल त्याग्न खोजे रातो कार्ड वा खेल गुमाउने सम्मको सजाय हुन सक्छ।

१०. हाइड्रेसन ब्रेक अनिवार्य

विश्वकप २०२६ मा प्रत्येक हाफमा लगभग २२ औँ मिनेटतिर पानी पिउने हाइड्रेसन ब्रेक हुनेछ। यसले खेलाडीलाई आराम र पानी पिउने अवसर दिनेछ।

११. गोलकिपरको ८ सेकेन्ड नियम

यदि गोलकिपरले बल ८ सेकेन्डभन्दा बढी राखेमा विपक्षी टोलीलाई कर्नर प्रदान गरिनेछ। अन्तिम ५ सेकेन्ड रेफ्रीले हातले काउन्टडाउन देखाउनेछन्।

यी नियमहरूको मुख्य उद्देश्य खेलमा समय खेर फाल्ने प्रवृत्ति घटाउने, प्रभावकारी खेल समय बढाउने र विश्वकपलाई अझ छिटो, निष्पक्ष र मनोरञ्जनात्मक बनाउनका लागि लागू गरिने फिफाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार