काठमाडौँ : कर्णाली प्रदेशस्तरीय प्रथम मेयर कप पुरुष फुटबल प्रतियोगिताको उपाधि वीरेन्द्रनगर नगरपालिकाले जितेको छ ।
फाइनलमा जुम्लालाई १−० ले पराजित गर्दै वीरेन्द्रनगरले उपाधि जितेको हो । वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग तथा कर्णाली प्रदेश फुटबल संघको आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो । जेठ १५ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधिसँगै वीरेन्द्रनगरले ट्रफीसहित नगद ४ लाख पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा उपविजेता बनेको जुम्लाले २ लाखमा चित्त बुझायो । प्रतियोगितामा प्रदेशका विभिन्न जिल्ला तथा स्थानीय तहका गरी १३ टोलीको सहभागिता रहेको थियो । व्यक्तिगत विधातर्फ वीरेन्द्रनगर नगरपालिकाका सुपबहादुर शाही उत्कृष्ट गोलरक्षक घोषित भए भने दिवश बिसी उत्कृष्ट डिफेन्डर चुनिए ।
पञ्चपुरी नगरपालिकाका धनसिंह विक सर्वाधिक गोलकर्ता बनेका छन् । त्यस्तै वीरेन्द्रनगरकै सुदीप गुरुङ उत्कृष्ट मिडफिल्डर, गणेश खड्का उत्कृष्ट प्रशिक्षक चुनिए ।





