काठमाडौँ : डा. सीके राउत नेतृत्वको जनमत पार्टीले ‘राष्ट्रिय वैकल्पिक मोर्चा’ निर्माणका लागि वार्ता कार्यदल गठन गरेको छ।
जनमतले श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँग मोर्चाबन्दी तथा सम्भावित राजनीतिक सहकार्यका लागि पहल गर्ने निर्णय गरेको हो। यसका लागि नरेन्द्र चौधरीको संयोजकत्वमा तीन सदस्यीय वार्ता कार्यदल गठन गरिएको जनमतका केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले जानकारी दिए।
चौधरी नेतृत्वको कार्यदलमा डा. जयकान्त राउत र प्रमोदकुमार गुप्ता सदस्य छन्। मण्डलका अनुसार कार्यदललाई सम्बन्धित राजनीतिक दलहरूसँग संवाद, छलफल र सहकार्यका सम्भावनाबारे आवश्यक पहल गर्ने जिम्मेवारी दिइएको छ। वैकल्पिक राजनीतिक शक्तिबीच सहकार्य, एकता र साझा राजनीतिक एजेन्डामार्फत देशमा नयाँ राजनीतिक विकल्प निर्माण गर्ने उद्देश्यका साथ मोर्चा गठनको पहल गरिएको जनमतले जनाएको छ।








