मकवानपुर : बाग्लुङको काठेखोला गाउँपालिका–२ मा स्थायी घर भई हाल काठमाडौँ महापालिका–२६ सामाखुसी बस्ने चूडामणि गौतम दम्पती स्थानीय बकैया गाउँपालिका–७ हात्तीखोलामा जग्गा भाडामा लिएर केही समयदेखि ड्राइगन र खरबुजाखेती गर्दै आएका छन् ।
कृषि उद्यमी गौतमले हाल उक्त जग्गाबाट उत्पादित करिब २९ टन खरबुजा चितवनको नारायगढ र हेटौँडाका बजारमा बिक्री गरे । उनले त्यसबाट ११ लाख ३८ हजार रुपैयाँ रकम आम्दानी गरिएको बताए । सो खरबुजा हेटौँडा र भरतपुरमा प्रतिकेजी ३० रुपैयाँसम्म बिक्री गरेको गौतमले बताउँछन् ।
गौतम दम्पतीले उक्त जग्गाको प्रतिकट्ठा वार्षिक चार हजार रुपैयाँ भाडामा लिएका थिए । भाडामा लिएको उक्त जग्गामा १० महिनाअघि पौष्टिक फल ड्राइगनको १२ हजार बिरुवा लगाइएको थियो । उक्त ड्राइगन बिरुवाको वरिपरिको खाली जग्गामा मौसमी खरबुजाको चार हजार बिरुवा केही महिनाअघि रोपिएको उद्यमी गौतमले जानकारी दिए ।
उद्यमी गौतमले अझै केही दिन खरबुजा उत्पादन हुने भएकाले टोल छिमेकीले बारीमै पुगेर खरिद गर्ने जानकारी दिए । कृषि उद्यमी गौतमले केही महिनाअघि खरबुजाखेती र बिरुवा उत्पादन मलखाद सिँचाइ गर्न तीन लाख ४० हजार रुपैयाँ रकम लगानी गरेका थिए ।
त्यस्तै पौष्टिक फल ड्राइगनखेती गर्न विभिन्न वित्तीय संस्था र लगानीकर्तासमेतबाट ऋण लिएर लगानी गरेको कृषक गौतम बताउँछन् । स्थानीय हात्तीखोलामा लगाइएको ड्राइगन अबको दुई महिनामा उत्पादन सुरु हुने र लगातार २० देखि २२ वर्षसम्म फल प्राप्त भइरहने उनी बताउँछन् ।
उक्त कृषि बागवानी फार्ममा अहिले दुई महिलासहित ११ जानाले रोजगारी प्राप्त गरिरहेको संस्थापक राधिकाकुमारी गौतमले जानकारी दिए ।








