काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी जिल्ला अदालत काठमाडौँमा सुनुवाइ भइरहेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।
पाँच दिनदेखि सुनुवाइ भइरहेको यो मुद्दा हेर्दाहेर्दैमा भोलि (बुधबार)का लागि पेसी तोकिएको छ। गत जेठ २७ गतेदेखि यो मुद्दा न्यायाधीश तेजबहादुर खड्काको इजलासमा सुनुवाइ भइरहेको छ । न्यायाधीश खड्काले भुटानी शरणार्थी मुद्दा प्रकरणको फाइल अध्ययन गर्न समय लाग्ने भएका कारण आज अपराह्नपछि सुनुवाइ रोकेर हेर्दाहेर्दैमा भोलिका लागि पेसी राखिएको हो ।
यो मुद्दामा बहसका लागि सयौँ कानुन व्यवसायीले नाम टिपाएका छन् । बहसका लागि नाम टिपाएका सयौँ कानुन व्यवसायी मध्ये न्यायाधीश खड्काले समय व्यवस्थापन गर्न र बहसको समय छोट्याउन आग्रह गर्दै आइरहेका छन्।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायत विभिन्न देशमा पठाउने भन्दै ठुलो रकम असुली गरेको प्रकरण लामो समयदेखि सुनुवाइ हुन नभएर रोकिएको थियो । जेठ २७ बाट भने अदालतले उक्त मुद्दालाई पेसीमा तोकेर निरन्तर सुनुवाइ भइरहेको छ।








