काठमाडौँ : फिल्म ‘हली’को टिजर सार्वजनिक गरिएको छ ।
शुक्रबार सार्वजनिक साढे १ मिनेट लम्बाइको टिजरले फिल्मको कथावस्तु र सेटिङबारे प्रकाश पारेको छ । छाउपडी प्रथालाई फिल्मले मुख्य विषयवस्तु बनाएको टिजरले प्रस्ट पार्छ । फिल्म ग्रामीण परिवेशमा आधारित भएर निर्माण भएको छ ।
ओम प्रतीकको लेखन तथा निर्देशन रहेको यस फिल्ममा निर्देशक प्रतिक स्वयंको मुख्य भूमिका रहेको छ भने सरोज खनाल, प्रमोद दीप, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, कमल गाउँले, विशाल पहाडीलगायतका कलाकारहरूको पनि अभिनय देख्न सकिनेछ । फिल्मको एक गीतमा दीलिप रायमाझी, किरण केसी, दीपाश्री निरौला, पूजा शर्मा र प्रियंका कार्कीले नृत्य गरेका छन् ।
जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायू फिल्म्सको सहकार्यमा निर्माण भएको फिल्मको निर्माण पूजा गुरुङ (गर्वी) र जस्मिन श्रेष्ठले गरेका हुन् । अर्जुन भुसाल कार्यकारी निर्माता तथा नम्रता भण्डारी सह-निर्मातामा छन् । फिल्ममा राहुल राईको छायांकन, रामप्रसाद चौधरीको सम्पादन, विपिन मल्लको सम्पादन तथा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ ।








