काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न ५१ हजार रुपैयाँ शुल्क, एक जना प्रस्तावक र ५१ जना समर्थक चाहिने भएको छ ।
रास्वपा निर्वाचन आयोगले उम्मेदवारी दर्ता, शुल्क तथा आवश्यक कागजातबारे सूचना जारी गर्दै सभापति पदमा उम्मेदवारी दिन ५१ हजार र ५१ जना समर्थक चाहिने जनाएको हो ।
त्यसैगरी, पदाधिकारीका लागि ४१ हजार रुपैयाँ शुल्क तोकिएको छ भने प्रस्तावक एक जना र समर्थक २१ जना तथा केन्द्रीय सदस्यको उम्मेदवार बन्न २१ हजार शूल्क, १ जना प्रस्तावक र २१ जना समर्थक चाहिने पनि सूचनामा उल्लेख छ ।
उम्मेदवारी दर्ताका लागि विवरण भरिएको उम्मेदवारी मनोनयन पत्र फाराम, उम्मेदवारी शुल्क बुझाएको नगदी रसिद वा बैंक भौचर, अनुशासन कारबाहीमा नपरेको स्व–घोषणापत्र, पार्टी सदस्यता प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटो २ प्रति चाहिने पनि केन्द्रीय निर्वाचन आयोगको सूचनामा उल्लेख छ ।








