काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको दोस्रो दिन आज उम्मेदवारी मनोनयनदेखि अन्तिम नामावली प्रकाशनसम्मका सम्पूर्ण प्रक्रियाहरू गरिँदै छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि निर्वाचन आयोगको सम्पर्क सचिवालयबाट उम्मेदवारी मनोनयनका लागि फारम वितरण सुरु हुनेछ भने दिउँसो २ बजेदेखि ४ बजेसम्म मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ ।
मनोनयन दर्ता गर्दा आयोगले सभापतिमा ५१ हजार शुल्क, एक जना प्रस्तावक र ५१ जना समर्थक हुनुपर्ने तोकेको छ भने पदाधिकारीमा उम्मेदवारी दिनेले ४१ हजार शुल्क, एक प्रस्तावक र २१ जना समर्थक हुनुपर्ने तोकेको छ । त्यसैगरी केन्द्रीय सदस्यका लागि २१ हजार शुल्क, एक जना प्रस्तावक र २१ जना समर्थक हुनुपर्ने तोकिएको छ ।
त्यस्तै आयोगले उम्मेदवारी दर्ता गर्दा मनोनयन पत्रसहित, उम्मेदवारी शुल्क बुझाएको रसिद, अनुशासन कारबाहीमा नपरेको स्व-घोषणा पत्र, पार्टी सदस्यताको प्रतिलिपि र पासपोर्ट साइज फोटो २ प्रति आवश्यक हुने जानकारी दिएको छ । मनोनयन दर्ता सकिएलगत्तै साँझ ६ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । उक्त सूचीमा रहेका उम्मेदवारहरूविरुद्ध दाबी-विरोध गर्नका लागि साँझ ६ बजेदेखि ७ बजेसम्म एक घण्टाको समय उपलब्ध गराइनेछ ।
साँझ ७ बजेदेखि ९ बजेसम्म दाबी-विरोध परेका उम्मेदवारहरूमाथि आवश्यक छानबिन र जाँचबुझ गरिनेछ । जाँचबुझपछि उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारहरूका लागि बेलुकी ९: १५ बजेसम्मको अन्तिम समय दिइनेछ र राती ११ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।





